लन्डन । गोर्खा प्यालेस रेस्टुरेन्ट फानबोरोले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा नेपालका लागि ५ लाख सहयोग संकलन गरेको छ ।
आइतबार २५ फेब्रुअरीका दिन प्यालेसले रसमूर बोरोका मेयर क्लिभ ग्राट्टन, नियमित ग्राहक, आफन्त, शुभचिन्तकसहितको जमघटमा वार्षिकोत्सव मनाइएको उत्सवमा ५ लाखभन्दा बढी सहयोग संकलन गरेको गोर्खा प्यालेसका प्रोपाइटर सूर्य गुरुङले जानकारी दिए । संकलित रकम नेपालका कुन क्षेत्रमा सहयोग गर्ने भन्ने पछि निर्णय लिइने उनले बताए ।
यसअघि पनि गोर्खा प्यालेसले विशेषगरी नेपालमा शैक्षिक क्षेत्रमा विद्यालय बनाउने, पुस्तकालय निर्माण र खेलकुदमा सहयोग गर्दै आएको प्रोपाइटर गुरुङले बताए । उनका अनुसार रेस्टुरेन्ट स्थापनाकालदेखि हालसम्म १ करोडभन्दा बढी रकम संकलन गरेर नेपाल र बेलायतमा प्रदान गरिएको छ ।
च्यारिटी गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने भन्दै गोर्खा प्यालेसका प्रोपाइटर एवं एनआरएनए यूकेका पूर्वअध्यक्षसमेत रहेका गुरुङले २५ वर्षको अवधिमा रेस्टुरेन्टले गरेका परोपकारी कार्य र त्यसबाट गोर्खा प्यालेसले प्राप्त अवार्डहरुका बारे कार्यक्रममा स्मरण गराएका थिए ।
उनले आगामी दिनमा पनि गोर्खा प्यालेसलाई माया गरिरहनेमा आशा व्यक्त गरे । प्रोपाइटर गुरुङका छोरा १० वर्षीय साकार गुरुङले पनि वार्षिकोत्सवमा सहभागीलाई धन्यवाद दिँदै मनोरन्जन लिइदिन आग्रह गरेका थिए । त्यसपछि प्रोपाइटर गुरुङले रेस्टुरेन्टलाई स्थानीय काउन्सिल, ग्राहकहरुको साथ र सहयोगले २५ औ वर्षको विशेष दिन मनाउन पाएको बताए । उनले रेस्टरेन्ट सञ्चालन चुनौती भए पनि ग्राहकवर्गको सन्तुष्टि दिने आफूहरुको मुख्य लक्ष्य रहेको बताए ।
कार्यक्रममा उपस्थित सबै जना राफल ड्र, अक्सनमा भाग लिएर खानपिन रमाइलो मानेकाले वार्षिकोत्सव सफल भएको प्रोपाइटर गुरुङले बताए । कार्यक्रममा नियमित ग्राहक र रेस्टुरेन्ट परिवारका सयजना भन्दा बढीको उपस्थिति थियो ।