काठमाडौँ । साहित्य तथा संंगीत साधक गणेश रसिक र मुन्धुमी कवि, कथाकार तथा पत्रकार प्रदीप मेन्याङ्बो पुरस्कृत हुने भएका छन्।
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले २०२३ को प्रतिभा सम्मान रसिक तथा प्रतिभा पुरस्कार मेन्याङ्बोलाई प्रदान गर्ने भएको हो ।
फागुन २८ गते पुतलीसडकस्थित ग्रिनलिफ फुड क्याफेमा पुरस्कार वितरण समारोह आयोजना गरिएको प्रतिष्ठानका महासचिव चोक गुरुङले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति कवि तथा मुन्धुमविज्ञ वैरागी काइँला रहनेछन् ।
सम्मानको राशि ५० हजार र पुरस्कारको राशि एक लाख रुपैयाँ नगद तथा ताम्रपत्र रहेको छ ।
सन् २००८ मा बेलायतमा स्थापित यस प्रतिष्ठानबाट यसअघि ईश्वर मानन्धर, अम्बर गुरुङ, जीबी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बुँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ), गोपाल पराजुली, डा. राजेन्द्र बिमल, डा. कृष्णहरि बराल र दीप श्रेष्ठ सम्मानित भइसकेका छन् ।
गत वर्ष वरिष्ठ कवि वैरागी काइँलालाई धरानमा बृहत् नागरिक अभिनन्दनसमेत गरिएको थियो ।
यसैगरी प्रतिभा पुरस्कारबाट नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान बल, बलराम अधिकारी, शुभ मुकारुङ, बिमला तुम्खेवा, गणेश गुरुङ र सुदीप पाख्रिन पुरस्कृत भइसकेका छन् ।