लन्डन । गैर आवासीय नेपाली संघ एनआरएनए युके (प्रेम गाहामगर समूह) को निमन्त्रणमा युवा चित्रकार सुजाना थापा श्रीस बेलायत आइपुगेकी छन् ।
क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजाना बिहीबार साँझ लन्डन आइपुगेकी हुन् । उनलाई हिथ्रो एयरपोर्टमा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए यूके गोर्खा टास्क फोर्सका संयोजक ओमप्रसाद थापा, प्रमुख संरक्षक डेभिड गुरुङ, एनआरएनए आईसीसी उपाध्यक्ष थर्क सेन, एनआरएनए यूके आइसीसी सदस्यहरु शारदा गुरुङ, सुमन पुन, लिला सेलिङ माबो, एनआरएनए यूके उपाध्यक्षहरु अनिल मल्ल, नम्रता घले लगायतले स्वागत गरे ।
सुजानाले एनआरएनए यूकेले ३ मार्चमा अल्डरसटस्थित प्यालेसमा गर्न लागेको अन्तर्राष्ट्रिय नारी दिवसमा विशेष आतिथ्य ग्रहण गर्नेछिन् । यस अलावा उनले दुई महिना बेलायतमा रहँदा यहाँ रहेका गोर्खा सैनिकका श्रीमतीहरुको कथाव्यथा अनुसन्धान पनि गर्ने कार्यक्रम छ ।
सुजाना डकुमेन्ट्री मेकर, चित्रकार र पत्रकार पनि हुन् । उनले गत नोभेम्बरमा नेपाल आर्ट काउन्सिलमा गोर्खाका श्रीमतीहरुको कथा झल्काउने चित्रकला प्रदर्शनी ‘गोर्खा वीमनः एन इको इन द स्टोरी’ सफलतापूर्वक गरेकी थिइन् । पोट्रेटस, अडियो-भिज्यूअल सामग्री, कलाकृतिहरु आदि समावेश भएको उक्त प्रदर्शनीले धेरै दर्शकको ध्यान खिचेको थियो । उनले सन् २०१८ मा ‘भार्सेली गोर्खा: फ्रम स्टोरिज टु पोट्रेटस’ नाममा काठमाडौं, बुटवल र गुल्मीको भार्सेमा एकल चित्रकला प्रदर्शनी पनि गरेकी थिइन् ।
उनको सामूहिक चित्रकला प्रदर्शनी ‘ब्ल्याक एण्ड ह्वाइट’ भने सन् २०१५ मा काष्ठमाण्डप आर्ट स्टुडियोमा भएको थियो । ‘गाउँ आएको बाटो’ (अ रोड टु अ भिलेज) फिचर फिल्ममा पनि उनले आर्ट डिरेक्टरको भूमिका निर्वाह गरेकी थिइन् ।
३ मार्चको अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्न नेपालको प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर २ मार्च बेलुका लन्डन आइपुग्ने अध्यक्ष गाहा मगर जनाएका छन् । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना रोकामगर समेत विशेष अतिथिका रुपमा सहभागी हुनेछिन् । एनआरएनए यूकेले उक्त कार्यक्रममा सहभागिताका लागि सबैमा अपिल गरेको छ ।
यस्तै अध्यक्ष गाहामगरका अनुसार उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा ५ मार्चमा हुने ‘वंशजको नेपाली नागरिकता निरन्तरता’ बहसमा चितवन भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पनि सहभागी हुनेछिन् । नागरिकता बहस संघको आफ्नै कार्यालय अल्डरसटमा हुने तय भएको छ । उक्त कार्यक्रममा बेलायतका करिब ६० वटा विभिन्न संघसंस्थाका प्रतिनिधिले भाग लिने बताइएको छ ।
इन्टरन्याशनल मेयर अवार्ड थाप्न बेलायतमा आउन लागेकी दाहाल पहिलोपटक बेलायतका नेपालीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन लागेकी हुन् । यसअघ निजी भ्रमणमा बेलायत आएपनि दाहाल नेपाली समुदायले आयोजना गरेको कुनै कार्यक्रममा सहभागी भएकी थिइनन् ।
भरतपुर महानगरपालिकाको दुई कार्यकाल मेयर रहेकी दाहाललाई आफ्नो महानगरपालिकाभित्र भौतिक पूर्वाधार निर्माणका लागि सबैले सराहना गर्ने गरेका छन् ।