लन्डन । गुरुङ समाज केन्ट युकेले २०२४ नोभेम्बरमा गुरुङहरूको ऐतिहासिक थलो क्होलासोथरको अवलोकन भ्रमण गर्ने भएको छ।
शनिबार समाजका अध्यक्ष क्याप्टेन रिटायर्ड डोलबहादुर गुरुङको अध्यक्षतामा आसफोर्डस्थित सेन्ट फ्रान्सिस कम्युनिटी (बिहीबारे) हलमा सम्पन्न बैठकले सो निर्णय गरेको हो।
फूलै फूलको बगैँचा भनेर चिनिने बेलायतको सुन्दर ठाउँ केन्टमा बसोबासरत तमु (गुरुङ)हरूबीच आपसी एकता, सद्भाव एवं सम्बन्धलाई अभिवृद्धि गर्दै आफ्नो मौलिक भाषा, भेषभूषा, संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धन गर्न सो बैठक कफी मोर्निङ कार्यक्रमका रूपमा आयोजना गरिएको समाजका प्रथम उपाध्यक्ष गोलमान गुरुङले बताए।
![](https://gurkhamedia.com/uploads/editor/2024-02-18/140852114tamu-uk (3).jpg)
सो अवसरमा समाजको विधान संशोधनबारे गहिरो छलफल भएको थियो। तमुहरूको धार्मिक, सांस्कृतिक एवं सामाजिक महत्त्व बोकेको ऐतिहासिक थलो क्होलासोथर अवलोकन भ्रमणको तयारीबारे जानकारी गराइएको थियो।
क्होलासोथर र वरिपरिका गुरुङ गाउँबारे तयार पारिएको भ्रमण योजनाबारे महासचिव तोरण गुरुङले पावर प्वाइन्टमार्फत विस्तृत जानकारी प्रस्तुत गरेका थिए।
यस्तै, प्रथम उपाध्यक्ष गोलमान गुरुङ र द्वितीय उपाध्यक्ष ममता गुरुङले समाजका ज्येष्ठ नागरिकदेखि युवायुवतीलाई तमु (गुरुङ) हरूको मातृभाषा (तमु क्युई) कक्षा सञ्चालन गरे।
![](https://gurkhamedia.com/uploads/editor/2024-02-18/141035303tamu-uk (4).jpg)
ज्येष्ठ नागरिकलाई मध्यनजर राख्दै स्थानीय क्षेत्रमा रहेको ऐतिहासिक एवं सुन्दर ठाउँको अवलोकन भ्रमणबारे पनि जानकारी गराए।
समाजका अध्यक्ष क्याप्टेन रिटायर्ड डोलबहादुर गुरुङले आफ्नो मौलिक संस्कार, संस्कृति, भाषा र भेषभूषालाई जीवन्त राख्न अभिभावकले छोराछोरीलाई प्रोत्साहन गर्न जोड दिए।
उनले कार्यक्रममा सहभागी सबैलाई धन्यवादसमेत दिए।