लन्डन । लन्डनस्थित बर्न्टओक नेपाली समाजले स्थापनाको २०औँ वार्षिकोत्सव मनाउने निर्णय गरेको छ।
एजवेयरस्थित हिमालयन स्पाइस रेस्टुरेन्टमा आइतबार बसेको सातौँ कार्यसमितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो। बैठकले आउँदो गर्मी याममा ‘समर आउटिङ’ आयोजना गर्ने भएको हो। मिति तथा स्थान पछि तोकिने छ।
समाजका अध्यक्ष खमिरजंग गुरुङको अध्यक्षतामा बैठक बसेको थियो। यसैगरी, समाजले युवा सदस्यलाई अगाडी बढाउने भएको छ।
बैठकमा बोल्दै समाजका पूर्वअध्यक्ष तथा लन्डन बरो अफ बर्नेटका पूर्वउपमेयर काउन्सिलर लक्ष्य गुरुङले संस्थामा नयाँ पुस्तालाई संलग्न गराउन र क्रमशः नेतृत्व हस्तान्तरण गर्दै जान आवश्यक रहेको बताए।
लन्डन बरो अफ बार्नेटका काउन्सिलर कमल गुरुङले समाजलाई नयाँ ढंगले लैजानु पर्ने बताए। उनले काउन्सिलरको रूपमा संस्थालाई गर्न सक्ने मद्दत गर्ने प्रतिबद्धता पनि जनाए।
समाजका उपाध्यक्ष मुरारी थापाले १६ डिसेम्बर २०२३ मा चयन भएको कार्यसमितिले गत दुई महिनाभित्र २९ जना नयाँ सदस्य बनाउन सफल भएको जानकारी दिए।
प्रविधि संयोजक प्रेम गुरुङले समाजको वेबसाइट तथा सामाजिक सञ्जाललाई अद्यावधिक गर्न गरिएका प्रयासबारे जानकारी दिए। सल्लाहकार दुर्गा गुरुङले समाजलाई अगाडी बढाउन आमा समूहले पुर्याउँदै आएको योगदानको प्रशंसा गरिन्।
बैठकले संस्थाको तर्फबाट एक टिम गोर्खा कपमा भाग लिन पठाउने निर्णय गर्नुका साथै त्यसको जिम्मा खेलकुद सचिव दल गुरुङ तथा ओम महर्जनलाई दिएको छ।
यस्तै, बैठकले समाजका पूर्वअध्यक्ष मोहन गुरुङलाई प्रमुख सल्लाहकारमा मनोनयन गरेको छ। सो अवसरमा समाजका सल्लाहकारलाई खादा लगाएर सम्मानसमेत गरिएको थियो।
बैठकले संस्थालाई मुनाफा नकमाउने संस्थाको रूपमा कम्पनी हाउसमा दर्ता गर्ने निर्णय गर्न सदस्यहरू वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट कृष्ण कार्की तथा मनिराज थापालाई जिम्मा दिने निर्णय पनि गरेको छ।
बैठकमा समाजमा टाढा-टाढा बसेका नेपाली र भूतपूर्व गोर्खा पनि आबद्ध भएकाले सबैलाई समेट्ने गरी संस्थाको नाम परिवर्तन गर्ने कि भन्नेबारे पनि छलफल भएको थियो। तर कुनै निर्णय भने गरिएन।
संस्थामा आबद्ध सदस्यको सहमति लिएर नाम र सम्पर्क नम्बर समाजको भाइबर ग्रुपमा राख्ने पनि निर्णय गरिएको छ।
बैठकको सञ्चालन महासचिव हेलिसा गुरुङले गरेकी थिइन्। अन्त्यमा अध्यक्ष खमिरजङ गुरुङले बैठकमा भौतिक तथा अनलाइनबाट सहभागी सबै पदाधिकारी, सल्लाहकार तथा सदस्यलाई धन्यवाद दिएका थिए।