काठमाडौं । गोर्खा मिडियाको दोस्रो वार्षिकोत्सवको अवसरमा बेलायतमा घोषणा गरिएको पुरस्कार, सम्मान तथा सहयोग हस्तान्तरण गरिएको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा गोर्खा मिडियाका सहसम्पादक तथा ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लुएस) प्रवक्ता प्रकाश गुरुङले मिडियाका तर्फबाट तामाङ मौलिक गीत, संगीतमा उदयीमान गायिका अन्जु लामा थोकर र गोर्खा मिडियाका भिडियो सम्पादक सागर तामाङलाई पुरस्कार र कलाकार दिनेशकुमार तामाङलाई सहयोग हस्तान्तरण गरेका हुन् । सिन्धुलीकी गायिका लामा, काभ्रेपलाञ्चोकका भिडियो सम्पादक तामाङ र नुवाकोटका कलाकार तामाङले जनही १० हजार रुपैयाँ नगद राशि, प्रमाणपत्रसहित पुरस्कार तथा सम्मान पाए ।
सिन्धुलीको दुर्गम गाउँ सुनकोसी गाउँपालिका-७ नागीमा २०५१ सालमा जन्मिएका गायिका लामा करिब एक दशकदेखि तामाङ तथा सेलो गायनमा सक्रिय छिन् । उनले 'हिमालको चौंरी', 'मुनाल जोडी', 'जात्रा च्याला', 'आनीको छोरी', 'एला माया' (तिम्रो माया), शैक्षिक चेतनामूलक गीत, आधुनिक, काँठ क्षेत्रमा प्रचलित लोक तथा दोहोरीलगायत दर्जनौं गीत गाइसकेकी छन् । उनी मोडलिङसमेत गर्छिन् ।
उक्त पुरस्कार गत सेप्टेम्बरमा गोर्खा मिडियाको दोस्रो वार्षिकोत्सवको अवसरमा बेलायतमा घोषणा गरिएको थियो । दुई कलाकार र दुई कर्मचारीलाई पुरस्कार र एक जनालाई सहयोग घोषणा भएकोमा कलाकारतर्फ तनहुँका लोकगायक कृष्ण थापामगरलाई पुरस्कार हस्तान्तरण बाँकी छ । कर्मचारीतर्फ गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङलाई भने २५ सेप्टेम्बरकै दिन प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्याल र गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवं फोटो पत्रकार मिलन तमुले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै सहसम्पादक गुरुङले पुरस्कृत गायिका अञ्जु लामाको कलाकारितामा निरन्तरता, सागर तामाङको थप उन्नति र दिनेशकुमार तामाङलाई स्वास्थ्यलाभसहित सांगीतिक बाटोमा अघि बढ्न शुभकामना दिए । उनले आफूहरु विदेशमा रहे पनि नेपाल र नेपालीको हितमा सधैं लागिरहने बताए ।
पुरस्कृत गायिका लामाले आफूलाई योग्य ठानेर पुरस्कार प्रदान गरेको भन्दै गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, सहसम्पादक प्रकाश गुरुङलगायत सम्पूर्ण टीमप्रति आभार व्यक्त गर्दै धन्यवाद दिइन् । उनले गोर्खा मिडियाको पुरस्कार र अन्य पुरस्कार तथा सम्मानका कारण आफू कलाकारितामा लागिरहन उत्प्रेरणा मिलिरहेको बताइन् ।
गोर्खा मिडिया 'सूचना र सेवा सँगै' सन्देशसहित सन् २०२० मा बेलायत निवासी पूर्वगोर्खा आर्मी एवं समाजसेवी मिलन तमुको एकल स्वामित्वमा स्थापना भएको हो ।