काठमाडौँ । नेपाल भूतपूर्व खेलाडी मञ्चलाई च्यारिटी रकम हस्तान्तरण गरिएको छ । मञ्चको कार्यालय पोखरा ४ मा बुधबार पोखरा म्याराथनका लागि रकम हस्तान्तरण तथा छुट्टाछुट्टै प्रायोजन सम्झौता भएको छ।
तमु धीं यूके र डायमन्ड बुद्धिस्ट सेन्टर युकेले च्यारिटी रकम हस्तान्तरण गरेका हुन्। ब्रिटिस ग्रामर स्कुल पोखरा र टुडेज मिनरल वाटरबिच प्रायोजनको सम्झौता भएको हो। च्यारिटी रनबाट तमु धीं युकेले तीन लाख र बुद्धिस्ट सेन्टरले एक लाख ३५ हजार २२४ रुपैयाँ प्रदान गरेका हुन्।
रकम हस्तान्तरणपश्चात् बोल्दै तमु धीं युके आमा समूहकी निवर्तमान महासचिव यशोदा गुरुङले आफूहरूले लन्डनमा समेत च्यारिटी रन गर्दै आइरहेको बताइन्। विशेषगरी क्यान्सर पीडितका उपचारका लागि च्यारिटी गर्दै आइरहे उक्त संस्थाले पोखरा म्याराथनमा समेत च्यारिटी रन गर्दै आइरहेको छ ।
क्यान्सरपीडित मञ्जु गुरुङ राईले पोखरा म्याराथनमा आफूहरूले सहकार्यको प्रयासलाई जारी राखिरहेको सुनाइन्। यूके संयोजकसमेत रहेकी उनले क्यान्सरपछिको जीवनसमेत सम्भव छ भन्ने सन्देश दिँदै च्यारिटी रन गर्दै आएको बताइन्।
यस्तै, ब्रिटिस ग्रामर स्कुलका कार्यकारी निर्देशक महेन्द्र कँडेल, टुडेज मिनरल वाटरका प्रबन्ध निर्देशक कुशल किरण श्रेष्ठ र मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले छुट्टाछुट्टै सम्झौता गरे। ब्रिटिस ग्रामर स्कुलले आगामी तीन वर्षका लागि तीन लाख रुपैयाँ प्रदान गरेको हो।
सम्झौतापश्चात् कार्यकारी निर्देशक कँडेलले पोखरा म्याराथनसँग जोडिन पाउँदा खुशी लागेको बताए। उनले पोखरा पर्यटन र खेलकुदसँगै शिक्षाको समेत हब बनाउन सकिने भएकाले संस्थाले पोखरामा नयाँ शैक्षिक संस्थाको शुरूआत गरेको सुनाए। उनका अनुसार पोखरा म्याराथनमा ब्रिटिस ग्रामर स्कुलले शिक्षामार्फत सामाजिक उत्तरदायित्वलाई बहन गर्नेछ।
यस्तै, टुडेज मिनरल वाटरले भने पाँच वर्षका लागि पिउने पानीको सौजन्य गर्नेछ। धावकलाई शुद्ध पानी पिलाउने उद्देश्यले पोखरा म्याराथनसँग जोडिएको प्रबन्ध निर्देशक कुशल किरण श्रेष्ठले बताए। उनले खेलाडीहरू दौडिँदा डिहाइड्रेसनको सिकार हुने भएकाले पानी प्रायोजन गरेको उनको भनाइ छ।
डायमन्ड बुद्धिस्ट सेन्टरका अध्यक्ष योगेश गुरुङले आफ्नो भागबाट थोरै निकालेर अरूलाई बाँड्नु धर्म रहेको बताए। उनले पोखरा म्याराथनलाई सफल बनाउन धेरै सहयोगी मनहरूको साथ रहेको सुनाए। आफूलाई बुबा आमाले सहयोग गर्नु पर्छ भन्ने भावनाको विकास गराएको र सोही अनुसार सहयोग गरेको उनको भनाइ थियो।
मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले पोखरा म्याराथनका कारण संस्थासँग धेरै सहयोगी हातको साथ मिलेको बताए। म्याराथनलाई सफल बनाउन सबैको भूमिका उत्तिकै रहेकाले आगामी दिनमा समेत सहयोग गर्न अनुरोध गरे।
उनले पोखरा म्याराथनलाई विश्वकै उत्कृष्ट म्याराथन बनाउन अझै सहयोगको खाँचो रहेको बताए। साथै म्याराथनलाई हरेक वर्ष थप व्यवस्थित र प्रतिष्ठित बनाउँदै लैजानेसमेत उनको भनाइ थियो।
मञ्चको आयोजनामा फागुन ५ गते शनिबार पोखरामा १८औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आयोजना हुँदैछ।