नेपालीहरुको दोस्रो महान् पर्व शुभ दीपावलीको पुनित अवसरमा बेक्स्ली नेपाली समाजले देउसीभैलो कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।
समाजका उपाध्यक्ष कमल गुरुङको संयोजकत्वमा वृहत रुपमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका संयोजक कमल गुरुङका अनुसार समाजका विशिष्ट व्यक्तित्वहरुको आग्रहमा उनीहरुको घर आगनमा नेपाली परम्परा अनुसार देउसीभैलो तथा साँस्कृतिक कार्यक्रम गरी सम्पन्न गरिएको हो ।
समाजका वरिष्ठ उपाध्यक्ष डा. हरिश ज्ञवालीको घर आगनबाट सुरु गरिएको देउसीभैलो कार्यक्रम विभिन्न दिनहरुमा समाजका संस्थापक अध्यक्ष केशबहादुर गुरुङ, संस्थाका वरिष्ठ सल्लाहकार चन्द्रबिर गुरुङ, समाजका सदस्यहरु तथा एनआरएनका उपाध्यक्ष एवं बुद्ध फाउण्डेशनका अध्यक्ष दिपक श्रेष्ठ र समाजका आजीवन सदस्य एवं पाशा पुचे गुठि पूर्व अध्यक्ष सुशिल प्रजापतिको घरआगनमा विशेष हर उल्लासका साथ मनाइएको हो ।
कार्यक्रममा विभिन्न रोचक नृत्य तथा समाजका छोरी नानीहरुको दमदार प्रस्तुति सहित सम्पन्न भएको हो । नेपाली परम्परालाई जिवन्त राख्न तथा आफ्नो चाडपर्वको महत्वको वारेमा साना नानीबाबुहरुलाई जानकारी गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नेपालवाट पाल्नुहुने वुवाआमाहरुको उपस्थितिले अझ रोचकता थपेको थियो ।
उक्त देउसीभैलो कार्यक्रमबाट प्राप्त भएको रकम समाजद्वारा संचालित नेपाली कक्षाको लागि र विभिन्न परोपकारी कार्यमा खर्च गरिने कुरा पनि कार्यक्रमका संयोजक कमल गुरुङले जानकारी दिए ।
विशेष नेपाली परम्परागत पोशाकमा उपस्थित भएका समाजका सम्पूर्ण सदस्यहरुको सहभागितामा सम्पन्न कार्यक्रमको विषेश प्रस्तुतिहरुमा नृत्य तर्फ ‘फैलियो माया दुबो सरि’, ‘वारि जमुना पारि जमुना’, ‘म त नेपाल को छोरी’ जस्ता सदावहार गीतको बोलमा प्रस्तुति तथा समाजका दिदीबहिन हरु को सामूहिक नृत्यले कार्यक्रमलाई निकै उत्साहित बनाएको थियो ।
देउसीभैलो प्रस्तुतिको दौरानमा पहिलो पटक यस कार्यक्रमलाई प्रत्यक्ष रुपमा बीएफबीएस गोर्खा रेडियो मार्फत प्रसारण गरिएको थियो । देउसीभैलो कार्यक्रमवाट विशेष त नेपाली दाजुभाई, दिदिबहिनीको बीचमा सौहार्द पूर्ण वातावरणमा आफ्ना परम्परालाई जिवन्त राख्न तथा आगमी पुस्ताहरुलाई आफ्नो मौलिक पर्वको वारेमा जानकारी गराईएको थियो ।
कार्यक्रममा सहयोगी मनकारी चन्दादाता र कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण कार्य समितिका पदाधिकारीहरुमा कार्यक्रम संयोजक कमल गुरुङले कृतज्ञता ब्यक्त गरे ।
कार्यक्रमलाई विशेष आकर्षक वनाउन सहसंयोजक हिमाल गुरुङले सहयोग गरेका थिए । देउसीभैलो कार्यक्रम अक्टोबर २२, २३ र २७ मा भएको थियो ।