लन्डन । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको चेलीबेटी प्रमुख तथा समाजसेवी स्वर्गीय चन्द्रदेवी गुरुङको स्मृतिमा शोक तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। समाजको आयोजनामा शनिबार तमु धीं युकेको भवन मिचेट, क्याम्बर्लीमा चन्द्रदेवीको शोक तथा श्रद्धाञ्जलीसभा भएको हो ।
लामा गुरु र उपस्थित व्यक्तिहरुले चन्द्रदेवीको नाममा बत्ती बालेका थिए । कार्यक्रममा वक्ताहरूले चन्द्रदेवीको निधनले क्वोंने (घोताने/घोण्डे) गुरुङ तमु समाज युकेमा अपूरणीय क्षति पुगेको बताएका छन् । चन्द्रदेवीले विभिन्न संघसंस्थामा रहेर पुर्याएको योगदानको उनीहरुले स्मरण गरेका छन् । विभिन्न संघसंस्था र नेपालका पीडित परिवारलाई आर्थिक सहयोग गर्न पनि उनी सधैँ अग्रसर रहेको स्मरण गरिएको छ ।
सभामा क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूके प्रमुख सल्लाहकार हरिगोविन्द गुरुङ, वरिष्ठ सल्लाहकार लेप्टिनेन्ट थमन गुरुङ, चेलीबेटी उपाध्यक्ष पञ्च गुरुङ, महासचिव लीना गुरुङ, संस्थापक चेलीबेटी प्रमुख तथा एनआरएनए युकेकी पूर्वअध्यक्ष पुनम गुरुङ, तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, तमु धीं युकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ, तम समाज युके आमा समूहकी पूर्वअध्यक्ष तथा समाजसेवी माया गुरुङलगायतले बोलेका थिए । त्यसक्रममा मायाले चन्द्रदेवीले सिर्जना गरेको कविता समेत वाचन गरिन् ।
ज्वाइँहरुको तर्फबाट तमु धीं युकेका पूर्वअध्यक्ष नन्दजंग गुरुङले चन्द्रदेवीको बारे बोलेका थिए । कार्यक्रममा विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूके संस्थापक संयोजक क्याप्टेन जीवन गुरुङको सभापतित्वमा भएको शोक तथा श्रद्धाञ्जली कार्यक्रम महासचिव इन्द्र घोतानले चलाएका थिए ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुस फेदीमा जन्मिएकी चन्द्रदेवीको गत जनवरी १ मा बेलायतको प्लमस्टिडस्थित आफ्नै निवासमा निधन भएको थियो । चन्द्रदेवी कास्की आँटीघरका साउथ इस्ट रिजनल तमु धीं यूकेका पूर्वअध्यक्ष क्या नारायनबहादुर गुरुङ एमभीओकी पत्नी थिइन् । उनी क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेलगायत नेपाली संघसंस्थामा सक्रिय थिइन् ।