लन्डन । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा रहेको घ्याङस्वाँरा पार्कलाई लक्षित गरी हुन लागेको 'पञ्चकन्या जिल्लाव्यापी क्रसकन्ट्री दौड प्रतियोगिता-२०८०'लाई गोर्खा मिडिया यूकेले ३१ हजार रुपैयाँ सहयोग गरेको छ ।
फोटो पत्रकारसमेत रहेका प्रबन्ध निर्देशक तमुले शुक्रबार दौड प्रतियोगिता आयोजक पञ्चकन्या जनकल्याण युवा समाजका अध्यक्ष टीकाराम तामाङलाई नगद सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
'सूचना र सामाजिक सेवा सँगसँगै' सन्देशसहित ४ वर्षअघि स्थापित गोर्खा मिडियाले समाचार सामाग्री पस्कनुका साथै प्राकृतिक विपत्ति, विपन्न वर्ग, शिक्षा, खेलकुद, स्रष्टा सम्मानलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ ।
दौड फागुन ५ गते शनिबार बिहान हुनेछ । सिनियरतर्फ महिला तथा पुरुष खुलामा हुने ११ किमि दौडको विजेताले २२/२२ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
यस्तै, पालिकास्तरीय छात्र/छात्रातर्फ भने ५ किमि दौड हुनेछ। जसमा प्रथम हुनेले नगद ११ हजार, द्वितीयले ७ हजार, तृतीयले ४ हजार, चौथोले २ हजार र पाँचौँ हुनेले १ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताका लागि अहिले धमाधम खेलाडी दर्ता चलिरहेको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा कीर्तिमान म्याराथन धावक बैकुण्ठ मानन्धरसमेत उपस्थित हुनेछन् ।