लन्डन । प्रतिनिधिसभा नेपालकी उपसभामुख इन्दिरा रानामगर बेलायत आउने भएकी छन् ।
एनआरएनए यूकेको निमन्त्रणामा उपसभामुख राना मार्च पहिलो साता बेलायत आउन लागेको अध्यक्ष प्रेम गाहामगरले जानकारी दिए । उनका अनुसार उपसभामुख रानामगर आउँदो २ मार्च बेलुका लन्डन हिथ्रो विमानस्थल आइपुग्ने जनाउँदै उनको स्वागतका लागि बेलायतवासी नेपालीलाई त्यहाँ पुग्न अनुरोध गरेका छन् ।
उपसभामुख रानामगर एनआरएनए यूकेले ३ मार्चमा अल्डरसटस्थित प्यालेसमा गर्न लागेको अन्तर्राष्ट्रिय नारी दिवसमा प्रमुख आतिथ्य ग्रहण गर्न आउने निश्चित भएको गाहामगरले बताए ।
कार्यक्रममा बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना रोकामगर, चर्चित डकुमेन्ट्री मेकर, चित्रकार तथा सञ्चारकर्मी सुजाना थापा एवं टिभी सेलिब्रेटी रिया भण्डारीसमेत विशेष अतिथिका रुपमा सहभागी हुने गाहामगरले बताए । नारी दिवस कार्यक्रमको संयोजन अमृता गिरी गजुरेलले गरेकी छन् ।
उपसभामुखको प्रमुख आतिथ्यमा ५ मार्चमा 'वंशजको नेपाली नागरिकता निरन्तरता’ वहस समेत राखिएको एनआरएनए यूकेले जनाएको छ । 'दुवै कार्यक्रममा सहभागिताका लागि म बेलायतस्थित समस्त नेपाली संघसंस्थाका प्रतिनिधिलाई आमन्त्रण गर्दछु', गाहामगरले भने । नागरिकता बहस संघको आफ्नै कार्यालय अल्डरसटमा हुने तय भएको छ । 'हामीले प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरु, नेताहरु लगायत सरोकारवाला सबैलाई भेटेर वंशजको नेपाली नागरिकता कायम गरिदिन ज्ञापनपत्र बुझाइसकेका थियौं । तर, राजनीतिक नेताहरुबाट अहिलेसम्म कुनै सकारात्मक प्रतिक्रिया नआएको हुंदा नीति निर्माण तहमा रहनुभएकी सम्माननीय उपसभामुख रानामगरसमक्ष आफ्ना माग राख्न यो महत्वपूर्ण अवसर हुनेछ', गाहामगरले भने ।
वंशजका नेपाली नागरिकलाई सधैँका लागि नेपाली नै रहिरहन दिन नेपालको नागरिकता ऐन २०६३ को दफा १० संशोधन गर्न आवश्यक रहेकाले यसमा सशक्त पहल जरुरी रहेको उनको भनाइ छ । 'हाम्रा माग पूरा नभए हामी आन्दोलनमा होमिनु पर्ने अवस्थाबीच यस वहसमा आफ्ना धारणा राख्न र केही सुझाव सल्लाह दिन तपाईं व्यक्तिगत र संस्थागत रुपमा उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं । कार्यक्रममा हामी सम्माननीय उपसभामुखज्यूलाई एक ज्ञापनपत्र समेत दिनेछौं', गाहामगरले भने ।
उपसभामुख रानामगरले बेलायत भ्रमणमा रहँदा यहाँको संसदीय अभ्यासबारे जानकारी लिने र बेलायती राजनीतिज्ञहरुसंग समेत भेटघाट गर्ने अपेक्षा गरिएको छ । उनी ९ मार्चमा नेपाल फर्कनेछिन् ।