लन्डन । बेलायतवासी तामाङ समुदायले संयुक्त रुपमा ल्होछार मनाएका छन् ।
तामाङ समाज यूके, म्हेन्दो माया परिवार यूके र तामाङ घेदुङ यूकेले शनिबार अल्डरसटमा संयुक्त रुपमा २८६० औं सोनाम डुक (मुपुख्री) ल्होछार मनाएका हुन् । हलमा झण्डै ९ सय सहभागी भएको आयोजकले दाबी गरेका छन् ।
म्हेन्दोमाया परिवार यूके अध्यक्ष तथा कार्यक्रम संयोजक हरिसिंह वाइबाको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि काउन्सिलर विष्णु गुरुङ, तामाङ समाज यूके अध्यक्ष कुमार स्याङ्तान, तामाङ, घेदुङ यूके अध्यक्ष राजेन योन्जन र म्हेन्दोमाया परिवार यूके अध्यक्ष वाइबाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
पहिलो चरणको औपचारिक कार्यक्रम म्हेन्दो माया परिवार यूकेका महासचिव बम ब्लेन्थेनले सञ्चालन गरेका थिए । कार्यक्रममा सल्लाहकार उदय घिसिङले स्वागत मन्तव्य दिए । दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सञ्चालनको जिम्मा मिलन गोम्जा, कृष्ण पाख्रिन र सिम्रन स्याङ्बोले लिएका थिए ।
उक्त अवसरमा नेपालबाट आएका चर्चित सेलो गायक, सर्जक तथा संगीतकार विश्व दोङ, मेनुका राई तामाङ र सानु वाइबासहित स्थानीय कलाकारहरुले गायन तथा नाच प्रस्तुत गरे । अमेरिकाबाट चर्चित डान्सर तथा मोडल रस्मी तामाङ पनि अतिथिका रुपमा सहभागी थिइन् ।
कार्यक्रमका अध्यक्ष एवं संयोजक हरिसिंह वाइबाले प्रायोजक, कलाकार, पत्रकार, अतिथी लगायत सबै सहयोगीप्रति आभार व्यक्त गरे ।