लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको २ महिने कंग्यूर तथा तेंग्यूर पुस्तक वाचन सम्पन्न भएको छ । बौद्ध धर्ममा अत्यन्त महत्वपूर्ण मानिने उक्त बुद्ध वचन तथा बौद्ध शास्त्र गत २७ नोभेम्बर २०२३ पूर्णिमाको दिन देखि शुरु भई गत शनिबार २७ जनवरीका दिन सम्पन्न भएको हो ।
विविध धार्मिक कार्यक्रमका साथ सम्पन्न भएको सो पुस्तकको समापनका दिन मानव जातिको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र सम्वृद्धिका लागि आयु तथा नाम्गेल टोन छो पूजा गरिएको थियो । जसमा १ हजार दीप प्रज्ज्वलन, १ हजार फूल अर्पण, १ हजार बिस्कुट, १ हजार गिलास पानी र १ हजार धुप प्रज्ज्वन गरिएको थियो ।
घ्योतो गुम्बा धरमशाला भारतका ३ जना घेसे गुरु, ३ जना लामा गुरुहरुले गत २ महिनादेखि १०८ ठेली कंग्यूर र २२५ ठेली तेंग्यूर वाचन गरेका थिए । त्यस्तै, बीसीसी युकेका धर्म गुरु खेन्पो कर्म छुल्त्रिम, खैबा कर्म, बौद्ध अर्धौं सदन पोखराका लामा हर्क जंग घले, लामा प्रदिप गुरुङ, लामा पुरनले समेत सो वाचनमा साथ दिएका थिए । उक्त पुस्तक वाचनलाई बीसीसी युकेका सल्लाहकार जंग बहादुर गुरुङले संयोजन गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङले श्रद्धेय गुरुहरु, पुस्तक वाचनमा स्पोन्सर गर्ने भक्तजन, भोजनदाता तथा दानबीरलगायत भक्तजनहरुलाई स्वागत गरेका थिए । साथै, उनले उक्त कंग्यूर तथा तेंग्यूर वाचनको महत्वबारे जानकारी गराउँदै धर्म गुरुहरुलगायत सबै दानबीरहरु, आमाहरु, कार्यसमिति र भक्तजनहरुलाई धन्यवाद ज्ञापन गरे । बीसीसी युकेका उपाध्यक्ष रोबिन गुरुङको संयोजकत्वमा सम्पन्न सो समापन कार्यक्रममा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ र आमा प्रमुख उर्मिला गुरुङको नेतृत्वमा बीसीसी युकेको तर्फबाट प्रवचनका लागि श्रद्धेय घेसे गुरुलाई मण्डला अर्पण गरे । उक्त कार्यक्रममा घेसे थुप्देन सेरपले कंग्यूर तथा तेंग्यूर र लङ्ग लाईफ इम्पावरमेन्ट बारे प्रवचन दिएका थिए । सो प्रवचनलाई खेन्पो कर्म छुल्त्रिमले नेपालीमा अनुवाद गरेका थिए । त्यस्तै, कंग्यूर तथा तेंग्यूर वाचनमा सहयोग पुर्याउने सबै दाताहरुको नाममा ङोवा गराईएको थियो । कार्यक्रममा अध्यक्ष गुरुङले भारतको धमरशालास्थित हिज होलिनेश दलाई लामाको गुम्बामा बन्न लागेको कक्षा कोठा निर्माण सहयोगार्थ घेसे गुरुमार्फत भक्तजनहरुबाट प्राप्त भएको सहयोग रकममध्येबाट पाँचलाख भारतिय रुपैया सहयोग रकम र मायाको चिनो प्रदान गरे ।
सो अवसरमा धरशालाका ६ जना गुरु र पोखरा बौद्ध अघौं सदनका २ जना गुरुलाई बिदाई समेत गरिएको थियो । त्यस्तै, उक्त बुद्ध वचनलाई वाचनका लागि दिएको समयको धन्यवाद दिदैं सबै गुरुहरुलाई प्रसंशा पत्र प्रदान गरिएको थियो । बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष क्याप्टेन देब घलेले धन्यवाद ज्ञापन गरेका थिए भने उपाध्यक्ष रोबिन गुरुङले कार्यक्रम संचालन गरेका थिए ।