पोखरा । गोर्खा मिडियाले लोक तथा दोहोरी गायक रामजी पौडेललाई सम्मान गरेको छ । पोखरामा शुक्रबार आयोजित समारोहमा गोर्खा मिडियाका सम्पादक एवं तमु धिं नेपालका अध्यक्ष हुम तमुले नगद १० हजारसहित सम्मान गरे ।
गोर्खा मिडिया लिमिटेड, बेलायतद्वारा सञ्चालित गोर्खा मिडिया डटकमको तेस्रो वार्षिकोत्सव अवसरमा यसअघि घोषित उक्त पुरस्कार शुक्रबार हस्तान्तरण गरिएको गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले बताए । संस्थाले बेलायत र काठमाडौंमा यसअघि कार्यक्रम गरी विभिन्न व्यक्तित्वलाई सम्मान गरिसकेको छ ।
कास्कीको भदौरेतामागीमा जन्मिएका रामजी पौडेल लोकदोहोरी क्षेत्रमा स्थापित नाम हो । लामो समयको गीतसंगीतमा उनको योगदानस्वरुप यसअघि थुप्रै पुरस्कार, अवार्ड तथा सम्मान पाएका छन् । २०६७ सालमा पहिलो पल्ट माछापुच्छ्रे म्यूजिक कम्पनीमार्फत आफ्नै रचना, संगीत र स्वरमा ‘सुन मेरी काली’ एल्बम ल्याएर उनी सांगीतिक क्षेत्रमा क्रियाशील रहँदै आएका हुन् । त्यसयता उनले दुई दर्जन गीतको एल्बम पस्किसकेका छन् ।
हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी सचिव उनी सन् २०१३ देखि ०१६ सम्म प्रतिष्ठान कास्कीको सचिव चलाइसकेका थिए । साथै उनी नेपाल रेडक्रस सोसाइटी कास्कीका आजीवन सदस्य, लायन्स क्लब अफ पोखरा ब्लु स्काईका कल्चरल निर्देशक तथा सप्तरंगी सांस्कृतिक प्रतिष्ठान पोखराका सदस्य हुन् ।
सो अवसरमा तमु धीं यूकेद्वारा सम्मानित अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितलाई सम्मानपत्र प्रदान गरिएको छ । गोर्खा मिडियाका सल्लाहकार रञ्जित लामो समयदेखि फोटो पत्रकारितामा क्रियाशील छन् । उनलाई तमु धीं यूके अध्यक्ष हरि गुरुङ र महासचिव विशाल गुरुङद्वारा हस्ताक्षरित सम्मानपत्र पोखरामा आयोजित समारोहमा प्रमुख अतिथि तमु धिं नेपाल अध्यक्ष हुम तमुले हस्तान्तरण गरेका हुन् ।
यस्तै, लोक तथा दोहोरी गायिका सरिता सारुमगरलाई पनि गोर्खा मिडियाले उनको कलाकारिताको क्षेत्रमा योगदानको कदर गर्दै सम्मान गरेको छ । उनी लामो समयदेखि लोकदोहोरी क्षेत्रमा क्रियाशील छिन् ।
कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुम तमुले गोर्खा मिडियाले जनतालाई सुसूचित गराउनका साथै सामाजिक क्षेत्रमा पनि यसैगरी क्रियाशील रहेको बताए । उनले गोर्खालीहरु जसरी देशविदेशमा पुगेका छन्, जसरी सगरमाथा अटल छ, त्यसैगरी गोर्खा मिडिया पनि अटल र अमर रहीरहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अध्यक्षताको आसनबाट गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले सम्मानित व्यक्तिहरुलाई बधाई दिँदै उज्ज्वल भविष्यको पनि कामना गरे । उनले गोर्खा मिडिया अघि बढ्न यसैगरी सबै जनाको सहयोग, सुझाव र प्रतिक्रिया आवश्यक रहेको बताए । उनले गोर्खा मिडियाले जनतालाई सुसूचित गर्ने काममा मात्र नभई सामाजिक कार्यमा पनि सधैंभरि लागिरहने प्रतिबद्धता जनाए ।
सम्मानित लोकदोहोरी गायक पौडेलले यस्तै माया, सम्मान र पुरस्कारले यस क्षेत्रमा अझ अघि बढ्ने प्रेरणा मिलेको बताए । उनले नेपाली लोकदोहोरी क्षेत्रलाई सम्झेकोमा गोर्खा मिडियाप्रति पनि आभार व्यक्त गरे ।
अग्रज फोटो पत्रकार रञ्जितले सम्मानप्रति आभार व्यक्त गर्दै गोर्खा मिडिया, तमु धीं युके, सहारा क्लब युके लगायत सम्पूर्ण संघसंस्था एवं व्यक्ति विशेषप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा सञ्चालन गुरुङ फिल्म निर्देशक एवं सञ्चारकर्मी जसु गुरुङले गरेकी थिइन् । तमु धिं नेपाल, नयाँबजार परिसरमा भएको समारोहमा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य कलाकार गमबहादुर गुरुङ (गजेन्द्र), कलाप्रेमी एवं रोधीं कार्यक्रम संरक्षक गमबहादुर गुरुङ, लोक तथा दोहोरी गायिका सरिता सारु मगर, पत्रकार विजय नेपाल लगायतको उपस्थिति थियो ।
‘सूचना र सामाजिक सेवा सँगसँगै’ अघि बढाउने उद्देश्यले गोर्खा मिडिया सन् २०२० सेप्टेम्बर १४ मा स्थापना भएको हो । गत सेप्टेम्बर १७ मा बेलायतमा काउन्सिलर जीत रानाभाटको प्रमुख आतिथ्यमा तेस्रो वार्षिकोत्सव मनाइएको थियो । सो अवसरमा समाजसेवातर्फ राजन खकुराल, साहित्यकार माया गुरुङलाई सम्मान गरिएकोमा हालै काठमाडौंमा आयोजित समारोहमा गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङको उपस्थितिमा गायक सन्तराज बिक र सञ्चारकर्मी भावना लम्साललाई सम्मान गरिएको थियो । दुवै जनालाई जनही १० हजार रुपैयाँ राशिसहित सम्मान गरिएको हो ।
बेलायत, गोर्खा समुदायलाई महत्व दिँदै जनचासोका समाचार र विचार समेट्दै अघि बढेको गोर्खा मिडियाले विज्ञापनमार्फत संकलित रकम अफिस सञ्चालन र विपन्न व्यक्तिरपरिवार, विभिन्न समस्याबाट पीडितको घाउमा मलम लगाउनुका साथै शिक्षा, संस्कृति तथा कलाकारितामा समेत टेवा पुर्याउँदै आएको छ ।
पहिलो वार्षिकोत्सवमा जनही १० हजार पुरस्कार राशिसहित ‘गोर्खा मिडिया वार्षिक स्रष्टा सम्मान’ बाट पुराना कलाकार नन्दा पुनमगर र गजेन्द्र गुरुङलाई सम्मान गरिएको थियो ।
दोस्रो वार्षिकोत्सवमा समाजसेवातर्फ ‘माइला–कान्छा अभियान बेलायत’ मार्फत आर्थिक अवस्था कमजोर व्यक्तिको औषधोपचार सहयोग, बाढीपीडित, कोरोना महामारीपीडितलाई राहत, शिक्षालयमा छात्रवृत्ति, अक्षय कोष स्थापनालगायत क्षेत्रमा लामो समयदेखि र्पुयाएको योगदानको कदरस्वरुप पार्वती गुरुङ माइला र माया गुरुङ कान्छालाई सम्मान गरिएको थियो ।
‘गोर्खा मिडिया वार्षिक स्रष्टा सम्मान’ तर्फ वरिष्ठ लोकगायक तनहुँका कृष्ण थापामगर र उदीयमान सेलो गायिका सिन्धुलीकी अन्जु थोकर लामा जनही १० हजार राशि, सम्मानपत्रसहित पुरस्कृत भइसकेका छन् ।