लन्डन । बेलायतमा कार्यरत नेपाली नर्सहरुले आफ्नो लागि कोष जुटाउन लन्डनमा च्यारिटी इभेन्ट गरेका छन् । नेपलिज नर्सिङ एसोसिएसन यूकेले २० जनवरीमा लन्डन ह्यारोमा उक्त इभेन्ट गरेको हो ।
प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली नर्सहरुले संकटका बेला सधैं अग्रमोर्चामा रहेर सेवा गरेको भन्दै तारिफ गरे । बेलायतका नर्सहरुले नेपालको स्वास्थ पूर्वाधारमा मात्र नभइ आफ्नो पेशागत दक्षता प्रदान गरेर समेत सहयोग गरिरहेको जनाए ।
एसोसिएसन अध्यक्ष सुनिता गौतमले प्रिजेन्टेसनमार्फत एसोसिएसनले विगतमा गरेका गतिविधि र भावी योजना सुनाइन् । नेपाली नर्सहरुलाई अप्ठेरो पर्दा आर्थिक सहयोग गर्ने योजना अनुरुप नर्सिङ वेलफेयर फण्ड स्थापनाका लागि च्यारिटी गरिएको उनको भनाइ थियो ।
एसोसिएसन महासचिव श्रीजा डंगोलले सञ्चालन गरेको पहिलो सत्रको औपचारिक कार्यक्रममा रोयल कलेज अफ नर्सिङ अध्यक्ष सिसिलिया सोब्रनी, फेलिसिया क्वाकु ओबीइ, ग्रीनवीच बरो काउन्सिलका उपमेयर जीत रानाभाट, पूर्व डिएसपी शिवजी श्रेष्ठ, एसोसिएसन संस्थापक अध्यक्ष अजिता सिम्खडा, अग्रज नर्स टुका स्यान्डवेल क्षेत्रीलगायतले मन्तव्य दिएका थिए ।
एसोसिएसन उपाध्यक्ष रस्मिता दर्लामीले स्वागत मन्तव्य दिइन् भने दोश्रो सत्र कोषाध्यक्ष अप्सरा सन्जेल र सांस्कृतिक सचिव प्रजु सापकोटाले सञ्चालन गरेका थिए ।
सो अवसरमा गायक गायिका दीपक थापा र शर्मिला बर्देवाले सुमधुर गायन प्रस्तुत गरे । स्थानीय कलाकारले कुमारी, लाखे, मारुनी लगायत नाच देखाएका थिए ।
कार्यक्रममा एसोसिएसनले कलाकार, प्रायोजक तथा संस्थालाई विशेष योगदान गर्ने व्यक्तित्वलाई प्रशंसापत्र प्रदान गरेको छ ।
कार्यक्रममा गाना र पाकिस्तानी नर्सिङ एसोसिएसन अध्यक्ष लगायत चेल्सी एण्ड वेष्टमिनिस्टर हस्पिटल एनएचएस फाउन्डेसन ट्रष्टकी डिभिजनल डिरेक्टर अफ नर्सिङ निकोला रोज, नेपलिज डक्टर्स एसोसिएसन यूके, एनआरएनए यूके, नेपाल पत्रकार महासंघ यूके, विभिन्न नेपाली संघसंस्था र व्यक्तिगत रुपमा सयौं मानिसको सहभागिता थियो ।
सन् २००८ मा स्थापना भएदेखि नै एसोसिएसनले नेपाल र बेलायतमा विभिन्न स्वास्थ्य शिविर, नेपालको दुर्गम क्षेत्रमा बर्थिङ सेन्टर स्थापना, नेपालबाट बेलायत आउन चाहने नर्सहरुका लागि जानकारीमूलक अन्तरक्रिया लगायत गर्दै आएको छ ।