लन्डन । लेम तमू (लाम्छाने गुरुङ) समाज यूकेको पहिलो भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
गत जनवरी २० तारिखमा समाजका अध्यक्ष रि. क्या. बालकृष्ण (बिके) गुरुङको अध्यक्षतामा फार्नबोरोस्थित स्याम्युल कोडी स्कुल हलमा उक्त भेटघाट कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम शुरुआतीमा सिन्धुलीगढीका युद्धनायक सिकारी सरदार वंशु गुरुङ (वंश) लेम गुरुङको तस्बिरमा चिबहरुले फूलमाला खादा चढाएका थिए । त्यसपछि अध्यक्ष बिके गुरुङ, एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, लेम तमू समाज यूकेका उपाध्यक्ष हरि गुरुङ, चिब मे.रि. श्रीप्रसाद गुरुङ लगायतले सामूहिक रुपमा दीप प्रज्जवलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । नेपाल र ब्रिटेनको राष्ट्रिय गान गुन्जिएको थियो ।
लेम तमू समाज केन्द्रका अध्यक्ष पाईलट ओम गुरुङ र महासचिव कुल गुरुङको रेकर्डेड भिडियो शुभकामना सन्देश देखाइएको थियो । केन्द्रबाट पठाएको सन्देशमा हाल लेम तमू समाज नेपालको १५ वटा जिल्लामा कार्यसमिति गठन भइसकेको र विस्तारको क्रम जारी नै रहेको उल्लेख थियो ।
उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य राख्दै बेलायतको जाडोमा दाज्यूभाइहरुको बाक्लो उपस्थितिले न्यानोको अनुभूति भएको बताए ।
अध्यक्ष बिकेले आफूहरुको भाषा, संस्कृति, संस्कार, भेषभूषा, कुलधर्म, कला तथा पररम्परालाई संरक्षण तथा संवर्द्धन गरी गुरुङ जातिभित्रका लेम तमूहरुबीचमा मैत्रीपूर्ण सम्बन्ध खडा गर्ने उद्देश्यले समाजको स्थापना गरिएको बताए । कार्यक्रमको उपस्थिति र साथ सहयोग पाउँदा हर्षित छु भन्दै सबैलाई उनले धन्यवाद दिए ।
एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङले नयाँ निर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै लेम तमुहरुको प्रगतिको शुभेच्छा व्यक्त गरे । सल्लाहकार रि.ई. ध्रुव गुरूङ र प्रमुख अतिथि मे. रि. श्रीप्रसाद गुरुङले छोटो मन्तव्य राखेका थिए ।
क्या. रि. राजु गुरुङ र मे. रि. धरम गुरुङ एमभीओले नवनिर्वाचित कार्यसमितिलाई आ-आफ्नो पदको शपथ ग्रहण गराएका थिए । कार्यसमितिमा क्या. बालकृष्ण लेम अध्यक्ष, हरि लेम उपाध्यक्ष, परशु लेम सचिव, गजेन्द्र लेम सहसचिव, गंगासिङ लेम कोषाध्यक्ष, कुमार लेम सहकोषाध्यक्ष, सदस्यहरु विश्वजङ्ग लेम, कन्याप्रसाद लेम, टङ्का मार्टिन लेम, लेखबहादुर लेम, मिमकाजी लेम, डमर लेम, दलबहादुर लेम, पदम लेम, रुद्रराज लेम, बुद्धिबहादुर लेम, प्रकाश लेम, विजय लेम, दिर्गा लेम, जगतबहादुर लेम, खिल लेम, प्रेम लेम, शिवहरि लेम सबैलाई चिव मेजर श्रीप्रसादले खादा लगाएर बधाई दिएका थिए । सात जना सल्लाहकारहरुलाई पनि खादा लगाएर बधाई दिइएको थियो ।
झन्डै ३०० जनाको सहभागिता रहेको कार्यक्रम निकै उत्साहजनक देखिन्थ्यो । यूकेभरि छरिएर रहेका लेम तमू बन्धुहरु एकबद्ध भएर नयाँ सन्देश दिएको देखिन्थ्यो । तमु धीं यूकेका अग्रज व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यभार अध्यक्ष हरि गुरुङ, निवर्तमान अध्यक्ष हित काजी गुरुङ, भूपू अध्यक्षहरु नन्दजंग गुरुङ, सुवाससिंग गुरुङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष परशु गुरुङ, सल्लाहकारहरु आमा समूहका प्रमुखहरुको उपस्थिति थियो ।
नेपालबाट आएका गायक ममता गुरुङ र सरुन गुरुङले माहोल रमाइलो बनाएका थिए । कल्चर कोअर्डिनेटर पदम लेम खुशी देखिन्थे । २० जना लेम दाज्यूभाइहरुले झन्डै ९ सय पाउन्डबराबर राफलको प्रयोजन गरेका थिए ।
गोर्खा मेजर भएकोमा मेजर डेनी गुरुङ एमभीओ र मेजर जीवनलाई एमभीओ भएकोमा बधाई दिइएको थियो । डा. लोकेश गुरुङ भौतिक विषयमा उत्कृष्ट अनुसन्धान गरेको, गुना गुरुङ अन्तर्राष्ट्रिय मार्सल आर्टमा रजत पदक हासिल गरेकोमा पनि सम्मानित भए । हित काजी लेम, हरि लेम र भरत लेम क्रमशः एनआरएनए यूकेका अध्यक्ष, तमु समाजको विशिष्ठ समाज सेवा अवार्ड, स्याङ्जा समाज र तमु धीं लन्डन इकाईका अध्यक्ष भएकोमा सम्मानित भए । यस्तै कुमार लेम तमु विशिष्ट समाजसेवा अवार्ड र पदम लेम साँस्कृतिक कलाकार मञ्च युकेको अध्यक्ष भएकोमा बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा नेपालबाट आएकी कलाकार गुना गुरूङले नृत्य प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा पारिवारिक परिचय पनि राखिएको थियो । कार्यक्रमको सुरुआतीदेखि अन्तसम्म खटिएका सचिव परशुराम गुरुङले कार्यक्रम सभ्य ढंगले संचालन गरेका थिए ।
कार्यक्रममा फोटोग्राफर विसान गुरुङले फोटो/भिडियो र सन्तोष गुरुङले साउन्ड सिस्टमको प्रायोजन गरेका थिए ।