लन्डन । समाजसेवी राजकुमार सुनार (राजशान्ति) ले अन्तर्राष्ट्रिय सामाजिक योगदान सम्मान प्राप्त गरेका छन् । समाजसेवामा उच्च योगदानको कदरस्वरुप सुनारले तेस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२३, मलेशिया अन्तर्राष्ट्रिय सामाजिक योगदान सम्मान प्राप्त गरेका हुन् ।
क्वालिटी फिल्मस् प्रालिद्वारा मलेशियाको राजधानी क्वालालम्पुरमा हालै आयोजित समारोहमा उनलाई अवार्ड प्रदान गरिएको अध्यक्ष तथा प्रबन्ध निर्देशक उमेश गुरुङले बताए ।
नेपालको लमजुङ सुन्दबजार नगरपालिका ९, फूलबारी स्थायी घर भई हाल बेलायतमा कार्यरत उनी राजशान्ति फाउण्डेशन युकेका संस्थापक हुन् ।
सुनार लामो समयदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा सामाजिक सेवामा क्रियाशील छन् । उनले लामो समयसम्म ब्रिटिस गोर्खा सेनामा रहेर बेलायतको जनताहरुको सेवा गरे । उनी गीतकार, लेखक, साहित्यकारका रुपमा पनि परिचित छन् ।
सामाजिक संस्था राजशान्ति फाउण्डेशन स्थापना गरेर उनी सामाजिक कार्यमा क्रियाशील रहँदै आएका छन् ।
२०७२ सालको भूकम्पमा फाउण्डेशनमार्फत भूकम्पपीडितहरुलाई विभिन्न खाद्य सामग्री प्रदान गर्नुका साथै २०७६÷०७७ सालमा पनि कोरोनाबाट जोगिन नेपालीहरुलाई सेनिटाइजर, मास्कलगायत स्वास्थ्य सामग्री सहयोग गरेका थिए । नेपालका विपन्न परिवारका क्यान्सरपीडित, मृगौला पीडितको उपचारमा पनि उनले आर्थिक सहयोग गरेका छन् ।
उनले लमजुङका विपन्न विद्यार्थीलाई अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराएका छन् । खेलकुद क्षेत्रको विकाससहित गीतसंगीत क्षेत्रको प्रोत्साहनका लागि निम्न आय भएका कलाकारहरुलाई आर्थिक सहयोगसमेत गरेका छन् । उनको सामाजिक कार्यमा धर्मपत्नी शान्ति सुनारको पनि उत्तिकै योगदान छ । सम्मानित सुनारले आयोजक संस्थालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सामाजिक सेवामा क्रियाशील भइरहने प्रतिबद्धता जनाए ।