लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले धरान रेडक्रस सोसाइटीलाई मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ । संघले लुम्बिनी र मधेश प्रदेशमा समेत यस्तो बस हस्तान्तरण गर्ने तयारी गरेको छ ।
धरानमा बुधबार आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघले सुनसरी जिल्ला शाखाद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्र धरानको लागि उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
७० लाख रुपैयाँको लागतमा खरिद मोबाइल ब्लड बस संघ अध्यक्ष डा. बद्री केसी र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रेडक्रस सोसाइटी सुनसरी अध्यक्ष उमेश थापालाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले गैरआवासीय नेपालीहरुलाई कोशी प्रदेशको समृद्धिको लागि सहकार्य गर्न आग्रह गरे । उनले कोशी प्रदेशमा लगानीका प्रशस्त सम्भवना रहेको बताउँदै समृद्ध कोशीको लागि लगानीका सम्भावित क्षेत्रमा सहकार्य गर्न गैरआवासीय नेपालीहरुसंग मिलेर काम गर्न प्रस्ताव गरे । गैरआवासीय नेपाली संघले देशमा अप्ठेरो परेको बेला सहयोग गरेको स्मरण गर्दै विदेशमा रहेका नेपालीहरुबीच एकता हुनुपर्ने तथा यूरोप, अमेरिकामा बस्ने नेपालीहरु र मध्येपूर्वका देशमा बस्ने नेपालीबीच मतभेद हुन नहुने सुझाव दिए ।
एनआरएनए अध्यक्ष डा. बद्री केसीले नेपालमा लगानीको लागि गैरआवासीय नेपालीहरु सक्रिय रहेको बताए । विदेशीहरुको लगानीभन्दा गैरआवासीय नेपालीहरुको लगानी दिगो हुने उनको भनाइ थियो । उनले कोशीको समृद्धिको लागि संघले पूर्वाधार लगायतका क्षेत्रमा गैरआवासीय नेपाली संघ सहकार्य गर्न तयार रहेको जनाए ।
संघ उपाध्यक्ष डा. हेमराज शर्माले स्थापनाकालदेखि संघले १ अर्बभन्दा बढीको परोपकारी कामको गरेको बताए । उनले संघले हस्तान्तरण गरेको बसले सडक दुर्घटनामा परेका नेपालीहरुको ज्यान जोगाउन ठूलो सहयोग पुग्ने विश्वास लिए ।
उनले गैरआवासीय नेपालीहरुले विदेशमा सिकेको ज्ञान, सिप र प्रविधिलाई स्वदेशमा भित्र्याउन सक्रिय रहेको बताए । डा. शर्माले गैरआवासीय नेपाली संघले नेपालमा लगानी, परोपकारी काम र विदेशमा बस्ने नेपालीहरुको हकहितको लागि आवाज उठाउने तीन मुख्य मुद्दालाई पिल्लरको रुपमा लिएर सोही दिशामा काम गर्दै आएको बताए ।
गैरआवासीय नेपाली संघ उपाध्यक्ष रोजिना प्रधानले संघले हस्तान्तरण गरेको मोबाइल ब्लड बसले मानिसहरुको ज्यान बचाउन महत्वपूर्ण भूमिका हुने बताइन् ।
कार्यक्रममा प्रतिनिधि सभा पूर्व सांसद मीना सुब्बा, प्रदेश सांसद रामप्रसाद मेहता, यशोदा कायस्थ, भीम पराजुली, धरान उपमहानगरपालिकाका उपप्रमुख हर्कराज राई, इनरुवा नगरपालिका प्रमुख केदार भण्डारी, रेडक्रस सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापा, नेपाली कांग्रेस नेता राजीव कोइराला लगायतको उपस्थिति थियो ।