लन्डन । बेलायतमा प्रथम किरात राजा यलम्बर हाङले सुरुवात गरेको सम्वत् यलेदोङ ५०८४ भब्य सम्पन्न भएको छ ।
किरात राई यायोक्खा बेलायत केन्द्रीय समिति आयोजनामा किरात राई भाषिक संस्थाहरुसँग संयुक्त आयोजित कार्यक्रम बेलायतको किरात भूमि किरात राई हाउस गेम्बल लेनमा सम्पन्न भएको थियो ।
किरात राई यायोक्खा बेलायत अध्यक्ष मेजर रिटायर्ड योगेस कोयी राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पा प्रमुख अतिथि थिए ।
साथै किरात याक्खा छुम्मा बेलायत अध्यक्ष याम याक्खा, किरात राई थुलुङ समाजका सल्लाहकार कमल थुलुङ राई, जिमी राई समाज बेलायत अध्यक्ष सहवीर राई, कलाकार मेनुका राई, डा. सुमाया राई, नरहाङ राई लगायत विभिन्न किरातजन्य संस्थाहरुका प्रतिनिधि उपस्थित थिए ।
कार्यक्रमको पहिलो चरणमा केही सालअघि स्थापित तिन चुला परिवर्तन गरिएको थियो । मुन्दुमी विधाप्राप्त वरिष्ठ नछुङमा गीता वान्तवा राई र कितावशेर राईको जोखना अनुसार गत उधौली कार्यक्रममा किरात राई शक्तिकेन्द्र पनि मानिने तिनचुलामा केही मुन्दुमी त्रुटी देखिएकोले चुला परिवर्तन गर्नुपरेको बताइएको छ ।
तिन चुलामा प्रयोग गरिने ढुंगामा सेतो दर्शने ढुंगा मिसिएको परेमा तथा चुला फुटेमा वा चोइटिएमा अशुभ हुने, कलह हुने विश्वास छ । चुला परिवर्तनलगत्तै त्रिवेणी मानेर निर्माण गरिएको काठको धारामा उपस्थित सबैले पानी अर्चाउँदै मकर नुहाउँदै तरुल कन्दमुलका टीका तथा आशीर्वाद ग्रहण गरेका थिए । मकर नुहाइसकेपछि विभिन्न भाषिक संस्थाहरुले तयार गरेका तरुल तथा विभिन्न किराती परिकारहरु खादै औपचारिक कार्यक्रम गरिएको थियो ।
किरात राई भाषिक संस्थाहरु किरात राई चाम्लिङ खाम्बतिम बेलायत, किरात पुमा राई तुप्खाबाङखाला, लोहोरुङ राई समाज युके, कोयी÷कोयु सोदेल खिम, थुलुङ राई सामा युके, जिमी राई समाज आदिको सहभागिता रहेको थियो । सहभागी भाषिक संस्थाहरुमार्फत तिनपाने, सुंगुरको भुटुवा, छनुवा जाँड, तोङवा, भाति जाड, वाचिपा, किनेमा, गुन्द्रुक, सेल रोटी, तरुल आदि किराती परिकारहरुको प्रदर्शनी तथा खाने व्यवस्था गरिएको थियो ।
कार्यक्रममा उपाध्यक्ष आशा राईले स्वागत मन्तव्य गरिन् । उपाध्यक्ष तथा कार्यक्रम संयोजक मेजर रि. भूपजित राईले कार्यक्रम तथा किरात राई हाउस र श्रमदानबारे जानकारी दिए ।
मुन्दुमविद् दिलबहादुर राईले किरात संस्कार संस्कृति र किराया पूर्व महासचिव नरेश काङमाङले यले सम्वत् सन्दर्भमा बोलेका थिए ।
कार्यक्रममा किराया बेलायतका संरक्षक नरहाङ राई, किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष चन्द्र जयपाल राई, किराया बेलायत शाखा लन्डनका अध्यक्ष बिमला राई, किरात याक्खा छुम्मा बेलायतका अध्यक्ष याम याक्खा, नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष कर्मा पहाडी शेर्पाले शुभकामना मन्तव्य गरेका थिए ।
सो अवसरमा महासंघ अध्यक्ष कर्मा पहाडी शेर्पाले नया सम्वत्को शुभकामना दिनुका साथै किरात राई एकताको प्रशंसा गर्दै किराती परिकार र भाषिक संलग्नताको प्रशंसा गरे ।
नेपालबाट आएका कलाकार मेनुका राई तथा गीतकार तथा बाँसुरीबादक शेमन्त वालाक्पा राईको सांगीतिक प्रस्तुतिसहित कार्यक्रम साँझ सामापन भएको थियो ।
समय अभावको कारण पुर्व निर्धारित श्रमदान अभियान ३ कार्यक्रमलाई स्थगित गरिएको थियो ।
कार्यक्रम समापन गर्दै अध्यक्ष मेजर योगेस कोयी राईले सबैलाई यलेदोङ ५०८४ को शुभकामना दिँदै एकवद्ध भएर श्रमदानमा सहभागी हुन आग्रह गरेका थिए ।
-किरात राई यायोक्खा