लन्डन । कोल्मा बहाकोट समाज यूकेले कमला गुरुङको परिवारलाई आर्थिक सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेको छ । १४ जनवरीमा अल्डरसटमा एक कार्यक्रम गरी उनीहरुलाई धन्यवादसहित प्रमाणपत्र प्रदान गरिएको हो ।
संस्थाका अध्यक्ष चन्द्र गुरुङले सहयोगीलाई खादा र स्व. कमला गुरुङका पति नीरज गुरुङले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
सो अवसरमा एनआरएनए युके अध्यक्ष प्रेम गाहा मगर, तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङ, तमु धीं लन्डन इकाइ र स्याङ्जा समाज युकेका अध्यक्ष भरत गुरुङ, बेजिङस्टोक गुरुङ समाज दुर्गा गुरुङ लगायतले बोेलेका थिए ।
संस्थाका अध्यक्ष चन्द्र गुरुङ र स्व. कमला गुरुङका पति नीरज गुरुङले सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम संचालन संस्थाका महासचिव मदन रानाले गरेका थिए ।
कोल्मा बहाकोट समाज यूकेको नेतृत्वमा विभिन्न संघसंस्थाबाट संकलित ४४ हजार ८ सय ३० पाउण्डमध्ये झण्डै ६ हजार पाउण्ड खर्च कटाएर बाँकी रकम कमलाका पति नीरज गुरुङलाई हस्तान्तरण गरिएको थियो ।
बेलायत पढ्न आएको चार दिनमै निधन भएकी कमला गुरुङको परिवारलाई एनआरएनए यूकेले पनि १ हजार ७ सय ५२ पाउण्ड आर्थिक सहयोग गरेको छ । अल्डरसटमा आइतबार कमलाका श्रीमान् नीरज गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरिएको अध्यक्ष प्रेम गाहामगरले बताए ।
तमु समाज यूके, स्याङ्जा समाज यूके, ग्रेटर रेडिङ नेप्लिज सोसाइटी लगायत कयौं संघसंस्था तथा व्यक्तिले आर्थिक सहयोग गरेका छन् ।
स्याङ्जाको बिरुवा गाउँपालिका–४ ओरस्टे गाउँ निवासी कमलाको बेलायत आएको ४ दिनमै डिसेम्बर ३ मा रेडिङस्थित रोयल वर्कसायर अस्पतालमा निधन भएको थियो । गुरुङ संस्कारअनुसार उनको गत २७ डिसेम्बरमा रेडिङस्थित क्याभरसम क्रिमेटोरियममा अन्त्येष्टि भएको छ ।