लन्डन । तमु धीं यूकेले ल्होछार कार्यक्रमको समीक्षा गरेको छ । अध्यक्ष हरि गुरुङको सभापतित्वमा आइतबार १४ जनवरीको अपराह्न आफ्नै भवन मिचेटमा ल्होछार समीक्षा बैठक सम्पन्न भएको हो ।
बैठकलाई स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले राखेका थिए । ल्होछार पार्टी संयोजक उपाध्यक्ष कमल गुरुङले पार्टीबारे आफ्नो भनाइ राखेका थिए भने अतिथि संयोजक उपाध्यक्ष परशु गुरुङले अतिथि सत्कारबारे जानकारी गराएका थिए । त्यस्तैगरी बार्षिकी पत्रिका फ्रेंसीबारे वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले प्रष्ट्याएका थिए ।
सांस्कृतिक कार्यक्रम र कलाकारहरुको प्रस्तुतिबारे सांस्कृतिक सचिव साधुराम गुरुङले आफ्नो भनाइ राखेका थिए । कार्यक्रमसम्बन्धी आर्थिक विवरण संस्थाका कोषाध्यक्ष दिलमाया गुरुङले अति पारदर्शिताका साथ प्रस्तुत गरेकी थिइन् ।
ल्होछार कार्यक्रमको समीक्षा बैठकपश्चात् आइतबार २६ मे २०२४ मा आयोजना हुन गइरहेको २२ औं गोर्खा कपको आयोजनाबारे संयोजक क्याप्टेन दिपक घलेले संक्षिप्तमा प्रस्तुत गरेका थिए । उनले खेलकुद सचिव घलेले गोर्खा कपमा दुईवटा बाटो खोल्ने प्रयास गरिरहेको जनाउँदै त्यसले दर्शकलाई लामो लाइन बस्नु नपर्ने विश्वास व्यक्त गरे ।
संस्थाका महासचिव डा बिशाल गुरुङले संचालन गरेको कार्यक्रममा नेपालबाट आएका कलाकारहरु ममता गुरुङ, सरून गुरुङ, निर्जला गुरुङ, सबिन गुरुङलाई संस्थाबाट सम्मान र बिदाई गरिएको थियो भने नेपाल फर्किंदै गरेका बीसीसी यूकेका ३ जना धर्मगुरूहरुलाई पनि सम्मानपूर्वक बिदाई गरिएको थियो ।
त्यस्तैगरी तमु समाज यूकेबाट उत्कृष्ट समाजसेवीबाट सम्मानित भएका संस्थाका सल्लाहकार कुमार गुरुङ र कार्यसमितिका पदाधिकारी सदस्य तथा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई अध्यक्ष हरि गुरुङले खादा लगाई बधाई दिएका थिए ।
ल्होछार कार्यक्रमको संयोजक उपाध्यक्ष कमल गुरुङलाई आफ्नो कर्तव्य सफलतापूर्वक निर्वाह गरी कार्यक्रम सम्पन्न गराएको भन्दै अध्यक्ष हरि गुरुङले क्रेगी र खादा लगाई बधाई दिएका थिए ।
कार्यक्रमको अन्तमा अध्यक्ष हरि गुरुङले बैठकमा उठेका बुँदाहरुबारे सबैजनालाई विस्तृत जानकारी गराउॅंदै बैठक समापन गराए ।