लन्डन । बेलायत पढ्न आएको चार दिनमै निधन भएकी कमला गुरुङको परिवारलाई एनआरएनए यूकेले १ हजार ७ सय ५२ पाउण्ड आर्थिक सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष प्रेम गाहामगरले अल्डरसटस्थित एनआरएनए यूके कार्यालयमा आइतबार कमलाका श्रीमान् नीरज गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरे । अध्यक्ष गाहामगरले कमलाको परिवारका लागि आर्थिक सहयोग गर्ने सबै दाताहरुप्रति आभार व्यक्त गरे ।
गाहामगरले प्राकृतिक विपत्ति वा मानवीय घट्ना हुँदा बेलायतमा झण्डै ३ सय ३४ नेपाली संघसंस्था भएका र तिनले जनही १ सय पाउण्डमात्र सहयोग गरे भने पनि ३३ हजार ४ सय पाउण्ड संकलन हुने भएकाले सबैको एकीकृत पहल आवश्यक हुने बताए ।
कमलाका श्रीमान् नीरजले अप्ठेरो समयमा बेलायतस्थित नेपाली समुदायबाट प्राप्त सहयोगका लागि सबैमा कृतज्ञता व्यक्त गरे ।
कार्यक्रममा उपाध्यक्ष अनिल मल्ल, आइसीसी सदस्य सुमन पुन, आइसीसी सदस्य शारदा गुरुङ, सदस्य तारा गर्बुजा मगर र निरजका भिनाजु रोइन्द्र गुरुङ उपस्थित थिए ।
स्व. गुरुङको परिवारलाई एनआरएनए यूकेबाहेक कोल्मा बहाकोट समाज यूके, तमु समाज यूके, स्याङ्जा समाज यूके, ग्रेटर रेडिङ नेपलिज सोसाइटी लगायत कयौं संघसंस्था तथा व्यक्तिले आर्थिक सहयोग गरेका छन् ।
आइतबार कोल्मा बहाकोट समाज यूकेको नेतृत्वमा विभिन्न संघसंस्थाबाट संकलित ४४ हजार ८ सय ३० पाउण्डमध्ये झण्डै ६ हजार पाउण्ड खर्च कटाएर बाँकी रकम नीरजलाई हस्तान्तरण गरिएको थियो ।
स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका–४ ओरस्टे गाउँ निवासी कमला उच्चशिक्षा हासिल गर्ने सुन्दर सपना साँचेर बेलायत आएको केही दिनमै बिरामी परिन् । तर, उपचारका क्रममा गत डिसेम्बर ३ तारिख रेडिङस्थित रोयल बर्कसायर अस्पतालमा उनको निधन भएको थियो । उनको गुरुङ संस्कार अनुसार गत २७ डिसेम्बरमा रेडिङस्थित क्याभरसम क्रिमेटोरियममा अन्त्येष्टि भइसकेको छ ।