लन्डन । आदिवासी जनजाति आन्दोलनका बौद्धिक नेता एवम् अगुवा स्व. डा.ओम गुरुङको निधनले पहिचानको आन्दोलनमा अपूरणीय क्षति पुगेको आदिवासी अभियन्ताहरूले बताएका छन् । डा. गुरुङको अवसानले आदिवासी जनजातिको पहिचानको आन्दोलनमा रिक्तता कायम भएको उनीहरूले ठहर गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ यूके, महिला महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ र युवा महासंघ यूकेको आयोजनामा शनिबार भएको शोकसभामा प्रवासमा रहेका आदिवासी जनजाति नेतृत्व एवम् अगुवाहरूले डा.गुरुङको निधनले आदिवासी जनजाचि, उत्पीडित र उपेक्षित वर्ग भएको बताएका हुन् । डा. गुरुङको ६८ वर्षको उमेरमा गत १७ नोभेम्बर सोमबार ललितपुरमा उपचारका क्रममा निधन भएको थियो ।
सभामा बोल्दै नेफिन यूकेका पूर्वअध्यक्ष एवम् सल्लाहकार सिरी साम्यू लिम्बुले डा. गुरुङ मिलनसार र बौद्धिक व्यक्तित्व भएको स्मरण गरे । उनले १९ दिने जनान्दोलन र पहिचानको आन्दोलनमा आफ्नो कार्यकालमा नजिकबाट सहकार्य गरेको बताए । उनले भूपू गोर्खा सैनिकहरूको आन्दोलनमा समेत अप्रत्यक्ष रूपमा बौद्धिक तवरले योगदान दिएको बताए ।
अर्का सल्लाहकार एवम् पूर्वअध्यक्ष तुल छन्त्यालले सबै समुदायहरू अधिकारका लागि एक भएर लागे सच्चा श्रद्धा हुने जनाए । त्यसैगरी, नेफिन बेल्जियम महासचिव पेम्बा गेलु शेर्पाले पहिचान र अधिकारको आन्दोलनमा डा. गुरुङपछि निरन्तरता दिनुपर्ने चुनाैती आएको धारणा राखे । नेफिन इजरायल महासचिव इन्दु लाओतीले आदिवासी समुदायहरू एकताबद्ध भएर जानुपर्नेमा जाेड दिइन् ।
सल्लाहकार एकिन्द्र गुरुङले बौद्धिक र प्राज्ञिक व्यक्तित्व गुमाएको हुनाले गुरुङको निधनमा पीडाबोध भएको बताए । उनले समाजशास्त्रीका रूपमा नेपालका धेरै जातिहरूको सूक्ष्म अध्ययन गरेको बताए । त्यस्तै, नेफिन सल्लाहकार एवम् किरात राई यायोक्खा नेपालकी पूर्वअध्यक्ष डा. सुमाया राईले नेपालका आदिवासी जनजाति समुदायहरूलाई आफ्नो मुद्दामा सडकमा उराल्न महत्त्वपूर्ण योगदान दिएको बताइन् । उनले १८ वर्षअघि काठमाडौंको रत्नपार्कमा विशाल सभा र शक्ति प्रदर्शन गरेपछि पहिचानको आन्दोलनमा सामाजिक सङ्ठगनहरू होमिएको जनाइन् ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा समेतको उपस्थिति रहेको उक्त सभापछि नेपालमा आदिवासी समुदायको चाडपर्वमा सार्वजनिक बिदा दिन र लाेकसेवा आयोगमा समावेशीकरण सुरु भएको सम्झना गरिन् । यस्तै, नेफिन नेपालका पूर्वसचिव एवम् सल्लाहकार भक्त दुरा, सल्लाहकार एवम् एभरेस्ट टाइम्सका पत्रकार दुत पुन, कियाचु कोषाध्यक्ष दीपेन्द्र यक्सो, फोनिज यूके अध्यक्ष गोमा राना मगर, आदिवासी जनजाति युवा महासंघ र आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ संयोजक अमित थेवे, कियाचु इजरायल अध्यक्ष नुमा काङ्भा, युवा महासंघ उपाध्यक्ष रुद्र थापा मगर, नेफिन इजरायल सल्लाहकार नयन इम्सङ, समीर ह्योल्मो, फोनिज यूके पूर्वअध्यक्ष विश्वासदीप तिगेला, ज्ञाम गुरुङलगायतले डा. ओम गुरुङको व्यक्तित्व र योगदानबारे बोलेका थिए ।
नेपाल आदिवासी जनजाति महिला महासङ्घकी उपाध्यक्ष गङ्गा माया दुराले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । नेफिन यूके बरिष्ठ उपाध्यक्ष लीला सेलिङ माबोले डा. गुरुङको जीवनी वाचन गरेकी थिइन् । अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षता र महासचिव विमला सेने लिम्बुले सञ्चालन गरेको सभा नेफिन यूकेसँगै फोनिज यूके, नेपाल आदिवासी जनजाति महिला महासङ्घ यूके र आदिवासी जनजाति युवा महासङ्घ यूकेहरूले आयोजना गरेका थिए ।