लन्डन । तमु समाज युकेले आजीवन सदस्य चन्द्रदेवी गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, उनका पति समाजका आजीवन सदस्य क्या.रि. नारायनबहादुर गुरुङ एमभिओ र परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । नारायन साउथ इस्ट रिजनल तमु धीं यूकेका पूर्व अध्यक्ष समेत हुन् ।
क्या.रि. नारायणबहादुर गुरुङ एमभिओ र शोकसन्तप्त परिवारजनलाई भेट गरी स्व. चन्द्रदेवीको फोटोमा समाजको तर्फबाट अध्यक्ष शिवकुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, आमा समूह अध्यक्ष उमादेवी गुरुङ, पूर्व अध्यक्ष माया गुरुङ, प्रथम महिला मीना गुरुङ कार्य समिति सदस्य भद्र गुरुङ, आजीवन सदस्य पार्वती गुरुङ, आजीवन सदस्य श्रीचन्द्र गरुङद्वारा पुष्पगुच्छा, फलफूल र खाद्यबस्तु अर्पण गरी उनको नाममा द्वीप प्रज्वलनसहित श्रद्धासुमन व्यक्त गरिएको छ ।
तमु समाज युकेले स्व. चन्द्रादेवीको अन्त्येष्टिको विषयमा छलफलसमेत गरेको गरेको थियो । यही २५ जनवरीमा हुने अन्तेष्टिको आयोजना संयोजक तथा नेतृत्व तमु समाज युकेका आजीवन सदस्य तथा साउथ इस्ट रिजनल तमु धींं लन्डनका पूर्व अध्यक्ष श्रीचन्द्र गुरुङले गरिरहेका छन् ।
क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेकी चेलीबेटी प्रमुख समाजसेवी चन्द्रादेवी गुरुङको गत १ जनवरीमा बेलायतको प्लमस्टिडस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको थियो ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुस फेदीमा जन्मिएकी उनी विभिन्न संघसंस्थामा आबद्ध थिइन् । विभिन्न संघसंस्था र नेपालका पीडित परिवारलाई आर्थिक सहयोग गर्नमा पनि उनी सधैं अग्रसर हुन्थिन् ।