गोमा राना
लन्डन । मगर संघ युके युएचएसबी शाखाले मगर समुदायको सांस्कृतिक पर्व माघे संक्रान्ति धुमधामले मनाएको छ ।
शनिबार फानबोरोस्थित सामुअल कोडि स्पोर्ट्स कलेज (ओक्फार्म स्कुल) मा मगरहरुको परम्पराअनुसार मौलिक पितृ पुजाका साथ प्रत्यक्ष गुल्मेली नौमतीबाजाको धुन, लोकदोहोरीलगायत कार्यक्रम गरी माघे संक्रान्ति मनाइएको हो । विदेशीभूमिमा पनि मगरहरुको मौलिक परम्परा संस्कार, सस्कृति भाषा, भेष भुषा, नेपाली कला गीत संगीतलाई निरन्तरता दिन प्रोत्साहन र प्रवर्द्धन गर्न भन्दै हरेक वर्ष माघे सक्रान्ति मनाइन्छ ।
पहिलो चरणमा संस्थाका सल्लाहकार पुजारी ओमप्रसाद काउचा र गणेश थापाले पौराणिक पितृ पूजाबाट सुरु गरेका थिए । पूजामा दिवंगत पितृहरुको सम्झना गर्दै उनीहरुको चिर शान्तिको कामना र सबैको रक्षा होस् भनी पूजा गरिएको थियो । प्रसादको रुपमा दिदीबहिनीहरुबाट मिठा मिठा परिकार खिचडी, सेलरोटी, फिनि रोटी बारा (बटुक) खिर, हलुवा, तरुल सखरखण्ड तयार पारिएको थियो ।
युएचएसबी शाखाका अध्यक्ष रिशीराम राना प्रमुख, अतिथि मगर संघ युकेका अध्यक्ष सीता पुर्जा पुन उनका श्रीमान्, विशेष अतिथिमा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगर र नेपालबाट आएकी समाजसेवी सपना रोकामगर, अन्य अतिथि गण, संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, सल्लाहकारलगायत सबैबाट प्रसाद ग्रहण भएको थियो । कार्यक्रममा दुईजना युवाहरुले नेपाली र अङ्ग्रेजी भाषामा माघे संक्रान्तिको बारेमा बोलेका थिए । त्यसपछि दोस्रो चरणमा सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट चर्चित लोकदोहोरी गायिका सानी मुना थापा मगर र स्थानीय कलाकार सन्तोष पुनले सबैलाई नचाएर भरिपूर्ण मनोरन्जन गराएका थिए । साथमा भान्जाभान्जी र आमा टोलीहरुबाट मौलिक नाच कौडा, सालैजो, सोरठी आदि नाच प्रस्तुत गरेका थिए ।
विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुनुको साथै राफल ड्र पनि आयोजना गरिएको थियो । पहिलो पुरस्कार राफल ड्र सुनको जन्तर संस्थाका सल्लाहकार टेक थापाबाट प्रायोजित शर्मिला रानाको भाग्यमा पर्यो भने क्रमश: दोस्रो नेपाली ड्राइभिङ ईन्स्ट्रक्टर एसोसियसन युके, तेस्रो नवीन नवीन ज्वेलरी अल्डरसट, चौथो सल्लाहकार लेख राना र पाँचौं पुरस्कार लेडिज कमिटीका उपाध्यक्ष नानु रानाले प्रायोजन गरेका थिए । पुरस्कार क्रमश: तेस्रो रोजीना थापा, थुलु गुरुङ र टेकबहादुर पुनले हात पारेका थिए ।
टिकट बिक्रीमा लेडिज कमिटीका दिदीबहिनीले सहयोग गरेका थिए । रानाको अध्यक्षतामा संस्थाका उपाध्यक्ष बिर बलालले उपस्थित सबैलाई स्वागत मन्तव्य राखेका थिए । सचिव गणेश बुढाथोकीले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए भने युवा दिनेश रोका र जानकी रोकाले सांस्कृतिक कार्यक्रम सन्चालन गरेका थिए ।
अन्त्यमा उपस्थित सबै, खानाको बन्दोबस्त द प्यालेस ड्रिंकमा सहयोग, डिजेमा गोर्खा साउन्ड, पुजारीहरु, कलाकार, पत्रकार, गेट टिकटमा सहयोग, कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिएका थिए ।