लन्डन । ब्रिटिस काउन्सिल नेपालले आफ्नो मुख्य कार्यालय लण्डनमा एक प्रदर्शनीको आयोजना गर्दै सहकार्य, साझेदारी र प्रभावका ६५ औं वर्ष स्मरण गर्दैछ ।
बेलायत–नेपाल मैत्री सन्धिको शत्वार्षिकी उत्सवले अवसरले दुई मुलुकहरुबीच सदियौंदेखि चलिआएको कुटनैतिक सम्वन्धलाई प्रष्ट पारेको भन्दै नेपालका लागि बेलायती राजदूत रब फेनले यस अवसरलाई कोषेढुंगाको संज्ञा दिँदै कृतज्ञता व्यक्त गरे । उनले भने, ‘बेलायत र नेपालबीचको सम्बन्ध चिरस्थायी रहेको र ब्रिटिस काउन्सिल नेपालले हाम्रा दुई मुलुकबीचको सास्ंकृतिक तथा शैक्षिक सम्बन्धहरुलाई सुदृढ बनाउन उल्लेख्य भूमिका खेलेको छ ।’
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भने, ‘ब्रिटिस काउन्सिलले आयोजना गरेको प्रदर्शनीले नेपाल र बेलायतबीचको सांस्कृतिक तथा शैक्षिक आदानप्रदानलाई उजागर गर्दछ, विगतलाई झल्काउँछ र भविष्यमा हुन सक्ने सहकार्यहरुलाई संकेत गर्दछ । दुई शताब्दीभन्दा लामो द्विपक्षीय सम्बन्धको पृष्ठभूमिमा आयोजित यस प्रदर्शनीले दुई मुलुकहरुबीच रही आएको मित्रता, सहकार्य र सहयोगलाई थप फराकिलो र सुधिढ बनाउन सघाउँदछ ।’
बेलायत र नेपालबीच कूटनैतिक सम्बन्धको एक अंशका रुपमा ६५ वर्षअघि स्थापना भएको ब्रिटिस काउन्सिल नेपालले पहिलो ब्रिटिस पुस्तकालय स्थापना गरेको थियो ।
ब्रिटिस काउन्सिल नेपालकी देशीय निर्देशक, शाहिदा म्याकडुगले पहिलो ब्रिटिस पुस्तकालयको स्थापनादेखि हालसम्मको यात्राको चर्चा गरिन् । ६ दशकमा आफूहरुले थुप्रै व्यक्तित्व र संघसंस्थाहरुसँग मिलेर लाखौंबीच पुग्न सकेका छौं भन्दै ब्रिटिस काउन्सिल नेपालले नेपालको शैक्षिक तथा सांस्कृतिक फाँटमा रुपान्तरणकारी प्रभाव छोड्न सफल भएको बताइन् ।
लन्डन मुख्य कार्यालयमा आयोजित प्रदर्शनीले ब्रिटिस काउन्सिलले शैक्षिक तथा सांस्कृतिक क्षेत्रहरुमा गरेका प्रयासहरु र उल्लेख्य योगदानलाई प्रष्टाएको छ । प्रदर्शनी लण्डनको रेडम्यान पी एल, इ२० १जेक्यू, बेलायतमा सर्वसाधारणका लागि १ अप्रिलसम्म खुला रहनेछ ।