लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले शुभकामना आदानप्रदान, ६ साहित्यकारको सम्झनासहित कृतिकारलाई सम्मान गरेको छ । अंग्रेजी नयाँ वर्ष २०२४ उपलक्ष्यमा आइतबार उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा कवि शिरोमणि लेखनाथ पौड्याल, नेपाली आधुनिक चित्रकलाका पिता तथा साहित्यकार लैनसिंह वाङदेल, नेपाली गीत तथा संगीतका प्रसिद्ध व्यक्तित्व मास्टर मित्रसेन थापा मगर, आधुनिक नेपाली संगीतका पिता अम्बर गुरुङ, नेपाली प्रगतिवादी तथा पृथक धारका कविताका लोकप्रिय कवि भूपी शेरचन र स्वरसम्राट नारायण गोपालको तस्विरमा पुष्पार्पण गर्दै स्मरण गरियो ।
अनेसास बेलायतले अनेसासका कोषाध्यक्ष प्रतिमा केसी ‘प्रवासी’ को हालै प्रकासित मुक्तक संग्रह ‘प्रवासी मन’, समाजका सदस्य जीतबहादुर बुढाथोकी छन्त्यालको मुक्तक संग्रह ‘यानीमाया’ र डा. रुपक श्रेष्ठद्वारा सम्पादित ‘सरुभक्तका मुक्तकहरु’ को संयुक्त रुपमा विमोचन गरेको छ ।
प्रमुख अतिथि रोयल बरो अफ ग्रीनविचका डेपुटी मेयर जीत रानाभाट र भूपी शेरचनका समकालीन साहित्यकार तथा बेलायतका आँखा रोग विशेषज्ञ डा. वीरेन्द्र अमात्य, सल्लाहकारद्वय डा. रुपक श्रेष्ठ र सुमल कुमार गुरुङ, अनेसासका अध्यक्ष राज श्रेष्ठ र कार्यक्रम संयोजक माया गुरुङले स्रष्टाहरुलाई सम्मान गरे ।
अनेसासका सदस्य तथा साहित्यकार संगीता स्वेच्छालाई महिलाहरुको हक तथा अधिकारबारे गरिएको योगदानको सम्मान गर्दै युनिभर्सल पिस फेडेरेसन बेलायतले पिस एम्बासडर घोषणा गरेकोमा उनलाई सम्मान गरेको छ ।
अनेसास बेलायतले एक दशकदेखि वर्षेनी गर्दै आएको स्रष्टा स्मृति दिवस यसपटक उपाध्यक्ष माया गुरुङले संयोजन गरेकी थिइन् ।
अनेसास अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य कुमार केसीले कार्यक्रमको पहिलो चरण र सहित्यकार अहिल्या कुँवरले दोस्रो चरणको कार्यक्रम संचालन गरे । कार्यक्रम संयोजक तथा समाजका उपाध्यक्ष माया गुरुङले स्वागत गरेकी थिइन् ।
प्रमुख अतिथि रानाभाटले सम्मानित श्रष्टाहरुलाई बधाई ज्ञापन गर्दै यस्तो कार्यक्रमले हामी सबैलाई नेपाल नेपाली साहित्यसंग निरन्तर जोड्ने र नेपालीत्व बचाउने बताए ।
सहभागीले मुक्तक वाचन गर्नुका साथै विभिन्न अग्रज कलाकार गीत गाएका थिए ।