लन्डन । पन्चासे समाज युकेको ल्होछार, नयाँ वर्ष र वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
तम धीं भवन मिचेटमा शनिबार ६ जनवरी २०२४ मा समाजका अध्यक्ष नवराज गुरुङको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । महासचिव टेकबहादुर गुरुङले स्वास्थ्य सुरक्षासम्बन्धी जानकारीसहित कार्यक्रमको औचित्यबारे भनाइ राखेपछि उद्घाटन गरिएको थियो । अध्यक्ष नवराज गुरुङ, संस्थापक अध्यक्ष ले.दान बहादुर गुरुङ र ज्येष्ठ सदस्य शुक्ललक्ष्मी गुरुङले दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष जय गुरुङले राखेका थिए ।
कृष्ण गुरुङको संयोजनमा भएको कार्यक्रमअन्तर्गत दिउँसो २ बजेपछि वार्षिक साधारणसभा सुरु भएको थियो । साधारणसभामा विधान संशोधनलगायत विभिन्न प्रतिवेदन प्रस्तुत र छलफल गरी पारित गरिएको थियो । महासचिव टेकबहादुर गुरुङले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष तेजबहादुर गुरुङले आय-व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभामा सदस्य वृद्धिको गृहकार्य, सदस्यता नवीकरण, चेलीबेटी, संस्थाको लोगोलगायत विषयमा छलफल गरिएको थियो । यस्तै कार्यक्रममा भर्खरै ८४ पूजा सम्पन्न गरेकी शुक्ललक्ष्मी गुरुङ, बुद्धिजम विषयमा मास्टर डिगी पूरा गरेका पूर्वअध्यक्ष सुमलकुमार गुरूङ र ब्रिटिस आर्मीमा सार्जन पदमा पदोन्नति भएका पोसन गुरूङलाई सम्मान गरिएको थियो । सभाको अन्त्यमा अध्यक्ष नवराज गुरुङले धन्यवाद मन्तव्य राखेका थिए ।
दोस्रो चरणमा नाचगान गरी समाजका पदाधिकारी, कार्यसमिति सदस्य र अन्य उपस्थित महानुभावहरु रमाएका थिए । कार्यक्रममा संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, आजीवन सदस्य, सदस्य, आमा टोलीलगायतको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा सहभागीलाई गोर्खा किचेनले खाना, नास्ताको प्रबन्ध गरेको आयोजक पन्चासे समाज युकेले जनाएको छ ।