लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन युके) बेलायतको छैटौं महाधिवेशन आउँदो जुन १६ तारिखमा हुने भएको छ ।
नेफिन युकेको शनिबार जुम प्रविधिमार्फत बसेको बैठकले आइतबार १६ जुन २०२४ मा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सल्लाहकार एवं संस्कृतिविद् एकेन्द्र गुरुङले जानकारी दिए । महाधिवेशनको स्थान तथा भेनु बन्दोबस्तका लागि सल्लाहकारद्वय एकेन्द्र र ज्ञाम गुरुङलाई जिम्मेवारी दिइएको छ ।
अधिवेशनका लागि प्रमुख निर्वाचन आयुक्तमा सल्लाहकार एकेन्द्र गुरुङलाई नियुक्त भएका छन् । निर्वाचन समिति सदस्यहरुमा निवर्तमान अध्यक्षहरु ले. श्रीप्रसाद लिम्बू, जंग सुनुवार, सल्लाहकारहरु विश्वासदीप तिगेला र दुत पुन छन् ।
बैठकले नेफिन युकेको स्मारिका प्रकाशन, रंगभेद दिवस १६ अथवा १७ मार्चमा मनाउने, ३०औं विश्व आदिवासी दिवस अगस्ट ४ तारिख अल्डरसटको द प्यालेस रेस्टुरेन्टमा मनाउने निर्णय पनि गरेको छ ।
अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षतामा बसेको बैठकमा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष लिला सेलिङ माबोले दिएकी थिइन् । बैठकमा निवर्तमान अध्यक्ष जंग सुनुवार, सल्लाहकारहरु डा. सुमाया राई, भक्तबहादुर गुरुङ, एकेन्द्र गुरुङ, र ज्ञाम गुरुङलगायतको उपस्थिति थियो । बैठक महासचिव बिमला सेनेले संचालन गरेकी थिइन् ।