लन्डन । स्कटल्यान्डमा रहेका एक दर्जन नेपाली संघसंस्थाको संयुक्त सहयोगमा नेपालका भूकम्प प्रभावित तीन सय बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।
गैरआवसीय नेपाली संघको स्कटल्यान्ड राज्य परिषद्, नेपाल स्कटल्याण्ड एशोसिएसन, फोर्थ भ्याली एशोसिएसन, ग्लास्गो नेपाली एशोसिएसन, नेपाली साउथ साइद कम्युनिटी ग्लास्गो, नेपाल हिमालयन एशोसिएसन एबर्डिन, फाइभ नेपाली कम्युनिटी, फाइभ नेपाली महिला समूह, हिमालयन सेन्टर फर आर्ट एन्ड कल्चर, दीयो क्लब यूके ग्लास्गो, स्कट नेपाल क्लब एडिनबरा र मलिका पञ्जेबाजा समूह लगायत संघसंस्थाबाट संयुक्तरुपमा संकलित रकमबाट सो सहयोग वितरण गरिएको हो ।
जसअनुसार भूकम्पबाट प्रभावित जाजरकोटका दुई गाउँपालिकामा न्यानो कपडा वितरण गरियो । एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषद अध्यक्ष दिवाकर पाण्डेले जाजरकोटका नलगाँड र बारेकोट गाउँपालिकामा विद्यालयका बालबालिका तथा महिलालाई कपडा वितरण गरिएको बताए । गएको पुस ९ मा नलगाँड गाउँपालिकास्थित जनकल्याण आधारभूत विद्यालयका ३७ जना अपाङ्गता भएका विद्यार्थीसहित करिब ३ सय जना विद्यार्थीलाई ट्रयाकसुट, टोपी र मोजा वितरण गरिएको थियो । यस्तै, भोलिपल्ट पुस १० मा बारेकोट गाउँपालिका २, रोकाया गाउँमा २ सय जना महिलालाई ब्लाङ्केट र पछयौरा वितरण गरिएको थियो ।
स्कटल्यान्डबाट पठाइएको सहयोग वितरणका लागि किशोर डंगोल, पत्रकार देवका लामिछाने, समाजसेवी गंगा न्यौपाने, नलगाँड नगरपालिकाका मेयर, बारेकोट गाउँपालिकाका अध्यक्ष, वडा २ अध्यक्ष, विपत व्यवस्थापन समिति संयोजक खगेन्द्र बोहोरा, पत्रकार भीम लामासहित स्थानीय शिक्षक–शिक्षिकासमेतको समन्वय र सहजीकरण थियो ।