लन्डन । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्य तथा संगीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरेको छ । साथै, प्रतिभा पुरस्कार मुन्धुमी कवि, कथाकार तथा पत्रकार प्रदीप मेन्याङ्बोलाई अर्पण गर्ने निर्णय गरेको छ ।
सम्मान तथा पुरस्कारको राशि नगद १ लाख रुपैयाँ रहेको छ ।
गीतकार, संगीतकार तथा गायक गणेश रसिक लगभग पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनबाट उदाएका हुन् । उनले नेपाली गीत–संगीतका साथै कथा, कविता, उपन्यास, संस्मरण र निवन्ध विधाका दर्जनभन्दा बढी कृति प्रकाशित गरेका छन् । प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष टंक वनेमले नेपाली साहित्यको श्रीबृद्धिमा दिएको अतुलनीय योगदानको कदर गर्दै उनलाई प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरिएको बताए ।
यसैगरी, लामो समयदेखि पत्रकारितामा संलग्न मेन्याङ्बोको ‘पुरुषगन्ध’ (कथाकृति, २०६०) प्रकाशित छ भने फुटकर रूपमा उनका विभिन्न पत्रपत्रिकामा मुन्धुमी कविताहरू प्रकाशित छन् । हाल उनी मुन्धुम ज्ञानको खोज–अन्वेषण कार्यमा संलग्न छन् ।
प्रतिष्ठानका महासचिव चोक गुरुङले सम्मान तथा पुरस्कार आगामी चैत अन्तिम साता काठमाडौंमा एक समारोह आयोजना गरी अर्पण गरिने बताए ।
आजभन्दा १६ वर्षअघि बेलायतमा स्थापित उक्त प्रतिष्ठानबाट हालसम्म ईश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्राडा गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ), गोपाल पराजुली, डा. राजेन्द्र बिमल, डा. कृष्णहरि बराल र दीप श्रेष्ठ सम्मानित भइसकेका छन् । गत वर्ष वरिष्ठ कवि बैरागी काइँलालाई धरानमा बृहत् नागरिक अभिनन्दन गरिएको थियो ।
यसैगरी, प्रतिभा पुरस्कारबाट नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान वल, बलराम अधिकारी, शुभ मुकारूङ, बिमला तुम्खेवा, गणेश गुरुङ र सुदीप पाख्रिन पुरस्कृत भइसकेका छन् ।