लन्डन । तमुहरुको महान पर्व ल्होछार अवसरमा तमु समाज युकेले शनिबार ग्रहशान्ति तथा शुद्धीकरण पूजा गरेको छ।
बिरालो वर्गलाई बिदाई र गिद्ध वर्गको स्वागत गर्ने उक्त पर्व अवसरमा बरहाम पार्क वेम्बली लन्डनस्थित तमु समाज युकेको भवनमा पूजा गरिएको हो । पूजा बिहान ११ देखि दिउँसो साढे ३ बजेसम्म चलेको थियो।
समाजका सक्रिय सदस्य हरिमान गुरुङको संयोजकत्वमा आयोजना गरिएको सो कार्यक्रम सुरु हुनुभन्दा पहिले समाजका महासचिव धरमबल गुरुङले गुरुहरुको परिचय गराएका थिए ।
त्यसपछि, संस्थाका अध्यक्ष शिवकुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, आमा समूहका अध्यक्ष उमादेवी गुरुङद्वारा संयुक्तरुपमा द्वीप प्रज्वलन र छ्योक अर्पण गरी पूजा आरम्भ गरेका थिए । पूजा कार्यक्रमको निर्देशन र रेखदेख समाजका महासचिव धरमबल गुरुङ र धार्मिक संयोजक हारिमान गुरुङले गरेका थिए।
पूजा कार्यक्रम संचालन नेपालबाट आएका रुम्जाटार गुम्बाका मूल लामागुरु खेन्पो श्यामबहादुर गुरुङ र खोटाङ गुम्बाका मूल लामागुरु गणेश गुरुङद्वारा ग्रहशान्ति तथा शुद्धीकरण पूजा धार्मिक विधि विधान अनुसार भयो । सो अवसरमा खेन्पो गुरु श्यामबहादुर गुरुङले ग्रहशान्ति र शुद्धीकरण पूजाबारे प्रस्टरुप्मा प्रवचन दिएका थिए । उनी हाल युकेको बुद्धिष्ट गुम्बा रेडिङमा अस्थायीरुपमा कार्यरत छन्।
समापनमा संस्थाका कोषाध्यक्ष खेमबहादुर गुरुङले पूजामा भोजनदान, द्रब्यदान दिनेप्रति धन्यवाद ब्यक्त गर्दै दानवीरको नामावली वाचन गरेका थिए।
संस्थाका अध्यक्ष शिवकुमार गुरुङले पूजा कार्यक्रम विधिपूर्वक सम्पन्न गरिदिएकोमा धर्म गुरुहरु, पूजा संयोजक हरिमान गुरुङ र पूजा कार्यक्रममा स्वतस्फूर्त द्रब्यदान गर्ने, सहभागी सबै तथा आ आफ्नो ठाउँबाट खटेर सहयोग गर्नेहरुप्रति धन्यवाद दिए ।
२ चरणमा भएको पूजाको पहिलो चरणको पूजा बिहान साढे ८ देखि १० बजेसम्म भएको थियो । खुसीमान गुरुङको निधनको ३ वर्ष पुगेको पुण्यतिथिमा दीप प्रज्वलन भयो । त्यसपछि दोस्रो चरणमा उक्त पूजा भएको हो । पूजामा सहभागी सदस्यको सामूहिकरुपमा ग्रहशान्ति पूजा भएको थियो ।
पूजामा सहभागी सबै जनालाई स्व. खुसीमान गुरुङको स्मृतिमा उनका श्रीमती पन्जाकुमारी गुरुङ, छोरा सुदन गुरुङ र दिदी ईच्छाकुमारी गुरुङ, बहिनीहरु पुष्पा गुरुङ र उमादेवी गुरुङंले भोजनदान र द्रब्यदान गरेका थिए । अन्तयमा, महासचिव धरमबल गुरुङले तमु समाज यूकेले ६ जनवरीमा ह्यारो लेजर सेन्टरमा तमु ल्होछार÷ल्होसार उत्सव मनाउने तयारी गरेको बताउँदे सहभागिताको लागि अनुरोध गरे ।
कार्यक्रममा फोटोग्राफर युवा समूहका अध्यक्ष ओमकार गुरुङले गरेका थिए । कार्यक्रममा समाजका कार्य समितिका पदाधिकारी, सल्लाहकार, आजीवन सदस्य लगायत समाजका ज्येष्ठ नागरिकदेखि युवा तथा बालबालिकाको उपस्थिति थियो ।