लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विविध धार्मिक पूजापाठका साथ तमु (गुरुङ) हरुको महान पर्व ल्होछार मनाएको छ ।
नेपालीहरुको बाक्लो बसोबास रहेको इङल्यान्डको अल्डरसटस्थित बीसीसी गुम्बामा ३१ डिसेम्बरमा दीप प्रज्वलन, घ्यासी आयु र छोग पूजा गरी मनाइएको हो ।
विश्वभर रहेका गुरुङहरुले प्रत्येक १५ पुसमा ल्हो अर्थात वर्ग परिवर्तनलाई विशेष महत्वका साथ लिने गर्दछ । सोही अनुरुप यस वर्ष बिरालो वर्गलाई बिदाइ गर्दै गिद्ध बर्गलाई स्वागत गर्ने क्रममा उक्त पूजाको आयोजना गरिएको हो ।
नेपालबाट आमन्त्रित धर्मगुरु खेन्पो मंगल ध्वज (किरण) तुलाचनको विशेष उपस्थितिमा सम्पन्न सो पूजामा बीसीसी युकेका खेन्पो कर्म छुल्त्रिम, लामा हर्कजंग घले, लामा प्रदीप गुरुङ, लामा पूरन गुरुङ, सानु लामालगायत धर्मशालाबाट आएका ६ जना धर्मगुरुहरुले संयुक्त रुपमा संसारभर रहेका मानवजातिको सुखशान्ति, दीर्घायू र समृद्धिको कामना गर्दै बौद्ध परम्परानुसार घ्यासी पूजा (ग्रहशान्ति), आयु, घनचक्र (छोग) पूजा गरेका थिए । सो अवसरमा दीप प्रज्ज्वलन, लुंदा रब्ने, रीप लगाउने, आयुको वाङ्ग दिइएको थियो ।
बेलायतमा रहेका तमुहरुको बाक्लो उपस्थिति रहेको पूजामा तमु धीं युकेका अध्यक्ष हरि गुरुङलगायत कार्यसमिति तथा आमाहरुले बीसीसी युकेको गुम्बा परिसर भित्र नयाँ लुंदा फेरेका थिए ।
बिहान १० बजेबाट औपचारिकरुपमा सुरुवात भएको पूजामा खेन्पो किरण तुलाचनले ल्होछारबारे जानकारी गराउँदै दीर्घायू र सशक्तीकरणबारे धार्मिक प्रवचन दिएका थिए । सो अवसरमा बीसीसी युकेका अध्यक्ष हर्क गुरुङलगायत कार्यसमितिले खेन्पो तुलाचनप्रति मण्डला अर्पण गरेका थिए । त्यस्तै, आमा प्रमुख उर्मिला गुरुङलगायत आमाहरुले धन्यवाद ज्ञापनसहित खेन्पो तुलचानप्रति मण्डला अर्पण गरे ।
कार्यक्रममा बीसीसी युकेका अध्यक्ष हर्क गुरुङले बीसीसी युकेकोबारे छोटो जानकारी गराउँदै विगत केही वर्षदेखि ल्होछार मनाउँदै आएको जानकारी गराउँदै तमु ल्होछारको हार्दिक मंगलमय शुभकामनासहित सबै अतिथिको हार्दिक स्वागत गरे ।
त्यस्तै, बीसीसी लण्डन ब्रान्चका सचिव पञ्च तामाङले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । साथै, तमु धीं यूकेका अध्यक्ष हरि गुरुङले मुप्री ल्होछारको पावन अवसरमा सबैको सुख, शान्ति, दीर्घायू, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना दिए ।
विशेषगरी नयाँ पुस्ताको बाक्लो उपस्थिति रहेको सो पूजामा बीसीसी युकेका उपाध्यक्ष रोविन गुरुङले अतिथि खेन्पो किरण तुलाचनबारे छोटो परिचय दिएका थिए ।
बौद्ध धर्ममा अत्यन्त महत्वपूर्ण मानिने १०८ ठेली कंग्यूर (बुद्ध वचन) र २२५ ठेली तेंग्यूर (बुद्ध वचन) बीसीसी युकेले गत २७ नोभेम्बरबाट पढाइरहेको पुस्तकलाई विभिन्न भक्तजनहरुले गुम्बा परिसरभित्र घुमाएका थिए । त्यस्तै, कार्यक्रममा बीसीसी युकेका स्टाफहरुले गरेको योगदानको कदर गर्दै सम्मान गरियो ।
विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत विशेष सहभागिता रहेको उक्त पूजामा बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टेन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायण गुरुङ, निवर्तमान अध्यक्ष धर्म तामाङ, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, निवर्तमान आमा प्रमुख पुष्पा गुरुङलगायत बीसीसी युकेका कार्यसमिति, आमाहरु, भक्तजनहरुको बाक्लो सहभागिता रह्यो ।
त्यस्तै, तमु धीं युकेका अध्यक्ष हरि गुरुङ तथा आमा अध्यक्ष सन्ध्या गुरुङ, एनआरएन युकेका अध्यक्ष हित काजी गुरुङ, एनआरएन युकेका अध्यक्ष प्रेम गाहा मगर, काउन्सिलर धनबहादुर सार्की, शेर्पा एसोसिएसन युकेका अध्यक्ष एवं बीसीसी युकेका वरिष्ठ उपाध्यक्ष आङदावा शेर्पा, तमु फोरमका डाइरेक्टर क्याप्टेन राजु गुरुङलगायत अतिथिहरुको विशेष उपस्थिति रहेको थियो ।
बिसीसी युकेका अध्यक्ष हर्क गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अन्त्यमा बीसीसी युकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक क्याप्टेन देव घलेले धर्मगुरु, अतिथि, स्वंयसेवक, आमाहरुलगायत उपस्थिति भक्तजनमा धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै, बीसीसी युकेका महासचिव मेजर हितमान गुरुङले औपचारिक कार्यक्रमको संचालन गरेका थिए ।
स्मरणरहोस्, खेन्पो किरण बीसीसी युकेको बिशेष निमन्त्रणामा तमु ल्होछारका लागि नेपालबाट आएका हुन् । उक्त ल्होछारका दिन उनलाई बीसीसी युकेका अध्यक्ष, आमा प्रमुख, ल्होछार संयोजक, कार्यसमिति, आमाहरुलगायत भक्तजनहरुले स्वागतद्वारमा खादा लगाई स्वागत गरिएको थियो ।