लोक तथा दोहोरी गीत प्रत्यक्ष गायन (लाइभ) मा पछिल्लो समय चलेका गायक हुन् सन्तराज बिक । देवघाट-१ तनहुँमा वि. स. २०५४ साल कार्तिकमा बाबा भिमबहादुर र आमा सीतामाया बिकको कोखबाट जन्मिएका सन्तराज बाल्यकालदेखि नै गायन क्षेत्रमा झुकाव राख्थे । हुने बिरुवाको चिल्लो पात भनेझैं कला र गलाका धनी सन्तराज कक्षा २ मा पढ्दादेखि नै विभिन्न कार्यक्रममा सहभागी भएको सम्झन्छन् । 'कक्षा २ पढ्दादेखि नै गीत गाएको थिएँ । त्यतिबेला सर/म्याडमले मैले राम्रो गाउँछन् भनेर कार्यक्रममा लानुहुन्थ्यो,' उनले संगीत क्षेत्रको सुरुवाती चरण सुनाए ।
उदीयमान प्रतिभा सन्तराजले व्यावसायिक रुपमा गायन पेसा अंगालेको भने ११/१२ कक्षा पढ्दाताका हो । दमौली निर्मल माध्यमिक विद्यालयबाट एसएसली (प्रवेशिका परीक्षा) उत्तीर्ण गरेका सन्तराजले उच्च शिक्षा भने ऐच्छिक विषय नेपाली लिएर शिक्षाशास्त्र संकायमा गरेका हुन् । दोहोरी साँझमा काम गर्दै र पढ्दै गरेका उनी भन्छन्, 'दोहोरीमा स्थापित हुन दोहोरी साँझबाट नै संघर्ष गर्ने हो ।'
हाल काठमाडौंको गोगंबुमा बस्दै ठमेल पोखरा दोहोरी साँझमा कार्यरत सन्तराज संगीत क्षेत्रमै भविषय बनाउन काम गरिरहेको बताउँछन् । त्रिवेणी संगीतालय पोखरामा संगीत प्रशिक्षण लिएका सन्तराजले पहिलो एल्बमको रुपमा 'पछेउरी ओढुला' गीत गाएका थिए । संगीतमा पूर्णकालीन बनेको ५ वर्ष भएको छ सन्तराज ।
लोक दोहोरी गाउनमा कत्तिको सहज छ भन्ने प्रश्नमा उनी भन्छन्, 'लाइभ दोहोरीमा रुची भयो भने हुन्छ । अरुको देख्दा/सुन्दा कुन शब्द प्रयोग गर्नुपर्छ भन्ने सिकिन्छ । मेला, महोत्सवमा गाउँदा शब्द यो प्रयोग गर्नुपर्ला भनेर तयारी गर्ने गर्छु ।' गायकी कुनै एक विधा र विषय नभएकोले बाबुछोरा, आमाछोरा, श्रीमान् श्रीमती, प्रेमी प्रेमिका, दाजुबहिनी जस्ता विभिन्न भूमिकाअनुसार गाउनुपर्ने उनी अनुभव सुनाउँछन् ।
परिवारका कान्छा छोरा गायक सन्तराजले लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको सहकोषाध्यक्षको जिम्मेवारी पनि सम्हाल्दै आएका छन् । संस्थागत र व्यक्तिगत तबरले कलाकार र संगीत क्षेत्रका मुद्दालाई उठाइरहे पनि सरकारले खासै सम्बोधन नगरेको उनको बुझाइ छ । 'कलाकारको संस्था लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल हो । प्रतिष्ठानले केही काम राम्रो गर्यो पनि । यो संस्थाबाट सरकारसँग धेरै माग, मुद्दा राखिएको छ । तर पूरा हुन सकिरहेको छैन,' उनले भने, 'कलाकारको दु:खको आधारमा प्रमाणित र वर्गीकरण गरियोस् सरकारले । रात्रिकालीन व्यवसायमा काम गर्नेको तलब तोकियोस् ।'
बिहान-बेलुकी हातमुख जोर्न कलाकारले पारिश्रमिक, भत्ता र टिप्सको कुरा गरिए पनि दामभन्दा नाम र समाज परिवर्तनका लागि संगीत अँगाल्ने गरेको उनको भनाइ छ । 'हामी पैसालाई भन्दा पनि नाम चिनिने हिसाबले यस क्षेत्रमा लाग्ने हो । तर उमेर बित्दै जाँदा जीवन धान्दा पैसा पनि आवश्यकता पर्दोरहेछ ।' भनेजति कमाइ नहुँदा पनि गीत संगीत छोडेर कमाइ गर्न कतै जाउँ पनि लाग्दैन रे उनलाई । गम्भीर मुद्रामा गायक सन्तराजले भने, 'काम गर्न विदेश जान्छु भन्ने हुँदैन मनमा । गीत संगीतमा नसा बस्यो । तर, कार्यक्रमहरुका लागि निमन्त्रणा वा अफर आएमा भने विदेश जानुपर्ला ।'
सांगीतिक कार्यक्रमका क्रममा सन्तराज नेपालका धेरै जिल्लाहरु घुमिसकेका छन् । तर विदेशी भूमि भने यो कुराकानीको दिनसम्म टेकेका छैनन् उनले । गीत, संगीतमा जीवन नै समर्पण गर्ने हजारौं कलाकार यस क्षेत्रमा रहेको सुनाउँदै उनले क्षमताको आधारमा भन्दा पनि प्रचारको आधारमा बाहिर देखिने गरेको गुनासो गरे । 'कम कला भएका मान्छेहरु मिडियाले गर्दा बाहिर आएका छन् । तर स्ट्रगल गरेका मान्छेहरु पछि परेका छौं,' उनले भने ।
मौलिक गीत संगीतलाई बचाउनुपर्छ भन्ने एकातिर छ भने लोकदोहोरीमा सभ्यशैली आवश्यक रहेको धेरैको ठम्याइ छ । सन्तराज पनि मौलिक गीत संगीतमा तारतम्य नमिलिरहेकोले यस तर्फ ध्यान दिनुपर्ने सुझाव राख्छन् । 'राम्रो पक्षलाई मान्छेले नियाल्दैनन् । नराम्रोलाई आलोचना गर्ने हो । मौलिक गीत भए पनि ड्रेस लगाएको हुँदैन । नाच मिलेन भने राम्रो हुँदैन । यसमा ध्यान दिनुपर्छ,' उनको सुझाव छ ।
गीत, संगीतको दौरानमा धेरै दु:ख, कष्ट र उतारचढाब झेलेका छन् उनले । मन नपर्ने विषयमा खुलेर भने, 'अग्रजहरुले सहयोगको वचन दिनुहुन्छ । हौसला दिनुहुन्छ । तर बोलीमा सहयोग, व्यवहारमा हुँदैन । यो दुखद् कुरा ।'
गायक सन्तराज नयाँ गीत 'लालुपाते' बजारमा ल्याउने तयारीमा छन् । बसन्त विश्वकर्माको लय/शब्द, सन्तराज र शान्तिश्री परियारको आवाजमा रहने गीतिभिडियो छिट्टै ल्याउने उनले जानकारी दिए ।
देश विदेशमा लोकप्रिय बनेको लोक तथा दोहोरी गीतलाई संरक्षण र प्रवर्द्धनका लागि भन्दै लागिरहेका गायक सन्तराज विकले सबैमा अनुरोध गरेका छन्- 'म नमुना बिरुवा हुँ । सबैले सहयोग गर्दा अगाडि पुग्ने हो ।'