लन्डन । तमु/गुरुङ समुदायको महान पर्व नयाँ वर्ष मुप्ह्री ल्हो तमु ल्होछार विविध कार्यक्रमका साथ मनाइँदैछ ।
हि ल्होको बिदाइ र मुप्ह्री ल्हो तमु ल्होछार आगमन अवसरमा १५ पुसलाई लन्डनसहित विश्वभरका तमु/गुरुङ समुदायले विविध कार्यक्रम गरी यो पर्व मनाउँदैछन् । तमु धीं युकेले ल्होछार पूर्व सन्ध्यामा अल्डरसटको एम्पायर हलमा ३० डिसेम्बरमा विविध कार्यक्रम गरेको कार्यक्रम संयोजक कमल गुरुङले बताए ।
नेपालमा तमु धीं नेपालले पर्यटकीय सहर पोखरामा झाँकीसहितको र्यालीसहित नयाँबजारस्थित तमु धिं कार्यालयमा आइतबार विशेष कार्यक्रम गर्दैछ । रानीपौवाबाट ल्होछार शुभकामना र्याली सुरु हुनेछ । सो र्याली महेन्द्रपुल, नयाँबजार हुँदै तमु धिं नेपालको कार्यालयमा पुग्नेछ । गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङको प्रमुख आतिथ्यमा हुने समारोहमा तमु धीं नेपालको केन्द्रिय सदस्यमा मनोनीत सदस्यको सपथ ग्रहण, विभिन्न व्यक्तिको सम्मान एवं विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिनेछ । भोलिपल्ट १६ पुसमा गण्डकी प्रदेशका पूर्व मन्त्री वेदबहादुर गुरुङको प्रमुख आतिथ्यमा परम्परागत छेलो प्रतियोगिता हुनेछ ।
१४ पुसमा बिरौटास्थित तमु ह्युला चोकमा सरसफाइ भयो । साथै तमु धीं नेपालमा स्वास्थ्योपचारका लागि विभिन्न बिरामीहरुलाई सहयोग हस्तान्तरण गरियो । तमु ह्युल चोकमा दीप प्रज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रम भयो भने तमु धिं नेपालमा स्योकैं कार्यक्रम भएको छ ।
तमु प्हे ल्हु संघ नेपालले पनि सप्ताहव्यापी कार्यक्रम गरी ल्होछार मनाइरहेको छ । गएको ९ पुसमा रक्तदान कार्यक्रम गरेको संस्थाले छ्यपो पूजा, सरसफाइ, चित्रकला प्रतियोगिता, शुभकामना आदानप्रदान, नृत्य प्रतियोगिता, बोन फायर गरिसकेको महासचिव हर्क गुरुङले बताए ।
नेपालको गण्डकी प्रदेशमा तमु/गुरुङ जातिको बाहुल्यता छ ।