लन्डन । बुद्ध फाउन्डेसन यूकेले रुकुम र जाजरकोटका भूकम्पपीडितका लागि करिब ३ लाख रुपैयाँ सहयोग जुटाएको छ।
शनिबार लन्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा आयोजित एक कार्यक्रममा उक्त रकम बराबरको चेक हेल्प नेपाललाई हस्तान्तरण गरियो । फाउन्डेसनले बेलायतमा १ हजार ७७५ पाउन्ड संकलन गरेको थियो । फाउन्डेसन अध्यक्ष दीपक श्रेष्ठले भूकम्पपीडितलाई दिने गरी हेल्प नेपाल नेटवर्क यूके अध्यक्ष सचिन श्रेष्ठलाई चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि ग्रीनवीच बरोका उपमेयर जीत रानाभाटले नेपालको विकट क्षेत्रमा सहयोग हुन लागेकोमा खुशी व्यक्त गरे । उनले दुवै संस्थाको परोपकारी पहलको प्रशंसा गर्दै यसबाट पीडितहरुलाई राहत मिल्ने अपेक्षा राखेको बताए ।
हेल्प नेपाल नेटवर्क यूकेका अध्यक्ष सचिन श्रेष्ठले संकलित रकम वितरणका लागि हेल्प नेपाललाई जिम्मा दिएकोमा फाउन्डेसनप्रति आभार व्यक्त गरे । उनले नेटवर्कले राहत र सहयोगका थुप्रै अभियान सञ्चालन गरेको जानकारी दिंदै फाउन्डेसनको सहयोग सदुपयोग हुने गरी चाँडै वितरण गर्ने प्रतिवद्धता जनाए ।
हेल्प नेपाल नेटवर्क यूकेका ट्रस्टी प्रसिद्ध प्रधानले फाउन्डेसनबाट प्राप्त सहयोगलाई कुनै पनि खर्च नकटाएर पूरै रकम पीडितसम्म प्रदान गर्ने जनाए ।
त्यस अवसरमा फाउन्डेसनका सल्लाहकार एवं बेक्सली नेपाली सोसाइटी अध्यक्ष डा. हरिश ज्ञवाली, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल, आरजीएनएस अध्यक्ष पुण्य रेग्मी, पासा पुचः साउथ इष्ट अध्यक्ष माधवलाल श्रेष्ठ, इनास यूके निवर्तमान अध्यक्ष विनोद चिपालु लगायतले फाउन्डेसनको पहलको प्रशंसा गरेका थिए । कार्यक्रम संचालन उपाध्यक्ष अर्जुन कटुवालले गरेका थिए ।