लन्डन । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको आउँदो १० फेब्रुअरी २०२४ मा आठौं वार्षिक भाइखलक तथा चेलीबेटी भेटघाट कार्यक्रम हुने भएको छ ।
एम्पायर हलमा बेलुकी ५ देखि राति १० बजेसम्म भेटघाट कार्यक्रम हुने अध्यक्ष क्या पिताम्बर गुरुङले जानकारी दिए । कार्यक्रममा नेपालबाट आएका चर्चित लोक तथा दोहोरी कलाकारहरु चिज गुरुङ, निर्जला गुरुङ र सविन कोके गुरुङको सांगीतिक प्रस्तुति रहनेछ ।
यस वर्षको कार्यक्रम संयोजन उपाध्यक्ष कुमार गुरुङले गरिरहेका छन् ।
क्वोंने तमु समाज यूकेले हरेक वर्ष माघेसंक्रान्तिको सुअवसरमा यूकेभरि छरिएर बसेका भाइखलक अथवा (माइतीहरु) सबै मिलेर यूकेभरि छरिएर बसिरहेका चेलीबेटी ज्वाइँहरुलाई नि:शुक्ल भोजनको साथमा मासको कालो टीका लगाई साथमा चेलीबेटीहरुलाई दान दक्षिणा प्रदन गरी बन तरुल, मकैको सातु, तिलको लड्डु, सेलरोटी इत्यादि परिकारहरु खुवाउँदै माघेसंक्रान्ति मनाउँदै आइरहेको छ ।
अध्यक्ष क्या गुरुङले कार्यक्रममा सहभागी हुन भाइखलक र दिदीबहिनीहरु एवं बेलायतवासी नेपालीलाई अनुरोध गरेका छन् । 'क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेको आठौं वार्षिक भाइखलक तथा चेलीबेटी कार्यक्रम—२०२४ निम्न उल्लेखित मिति, स्थान र समयमा चर्चित कलाकारहरु- चिज गुरुङ, निर्जला गुरुङ र सबिन कोके गुरुङको धमका प्रस्तुतिसहित आयोजना गरिने भएकोले युकेवासी सम्पूर्ण क्वोंने (घोताने/घोण्डे) भाइखलकहरुलाई (दाज्युभाइहरुलाई) तथा क्वोंने दिदीबहिनीहरुलाई (चेलीबेटीज्यूहरुलाई तथा ज्वाइँसापहरुलाई) गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं,' समाजको आधिकारिक फेसबुक पेजमा उनले लेखेका छन् ।
यस्तै चेलीबेटी प्रमुख चन्द्रदेवी कोन्स्योले पनि उक्त कार्यक्रममा उपस्थित भएर गरिमा बढाइदिने अपेक्षा राखेको बताएकी छन् ।
कार्यक्रममा संस्थाका गतिविधि, भावी योजना, एक वर्षभित्र यूकेस्थित विभिन्न संघसंस्था अनि राजनीतिक पार्टीका भ्रातृ संगठनहरुका विभिन्न पदमा नियुक्त तथा निर्वाचित दाज्यूभाइ तथा भाइखलकहरुलाई बधाई, शुभकामना र सम्मान गर्ने, विभिन्न प्रतियोगिता पुरस्कार वितरण, भाग्यशाली चिठ्ठालगायत हुनेछन् ।
क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको सातौं भाइखलक तथा चेलीबेटीहरु वार्षिक भेटघाट कार्यक्रम गत वर्ष ११ फेब्रुअरी २०२३ शनिबार भएको थियो ।