लन्डन । बेलायतमा ज्यान गुमाएकी कमला गुरुङको परिवारलाई तमु समाज युकेबाट २५ सय ५ पाउन्ड सहयोग भएको छ ।
लन्डनस्थित बारहम पार्कमा रहेको तमु समाज युकेको भवनमा २६ डिसेम्बर २०२३ मा एक कार्यक्रमबीच स्व: कमलाको परिवारलाई तमु समाज युकेको तर्फबाट राहत स्वरुप २५ सय ५ पाउन्ड हस्तान्तरण गरिएको हो । अध्यक्ष शिवकुमार गुरुङबाट स्व कमला गुरुङका श्रीमान् निरज गुरुङलाई राहत रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा कोल्मा बहाकोट समाज युकेका अध्यक्ष चन्द्र गुरुङलगायत स्व: कमला गुरुङका आफन्तजनहरु र तमु समाज युकेका पदाधिकारिहरुको उपस्थिति रहेको थियो । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम समाजका महासचिव धरमबल गुरुङले संचालन गरेका थिए ।
बेलायत आगमनको छोटो समयमै पत्नि वियोगको अत्यन्तै कठिन समय सामना गरिरहेका निरज गुरुङको परिवारलाई केही हदसम्म भए पनि आर्थिक राहत पुगोस् भन्ने हेतुले तमु समाज युकेले समाजका सदस्यहरु र शुभचिन्तकहरुबाट स्वतस्फूर्त रुपमा छोटो समयमा आर्थिक सहयोग संकलन गरेर हस्तान्तरण गरेको समाजका अध्यक्ष शिवकुमार गुरुङले बताए ।
अध्यक्ष शिवकुमारका अनुसार स्काई कम्पनी लन्डनमा कार्यरत नेपालीहरुबाट कमलाको परिवारलाई सहयोग प्राप्त भएको थियो । बेलयतमा क्रियाशील कोल्मा बहाकोट समाज युकेको तर्फबाट अध्यक्ष चन्द्र गुरुङले स्व: श्रीमती कमला गुरुङको परिवारलाई आर्थिक सहयोगको निम्ति तमु समाज युकेसमक्ष आग्रह गरेका थिए । समाजका अध्यक्ष शिवकुमारले स्व: कमला गुरुङको परिवारको लागि राहतस्वरुप आर्थिक सहयोग अभियानमा सहयोग गर्ने समाजका सदस्यहरु, शुभचिन्तकहरु र लन्डनस्थित स्काई कम्पनीमा कार्यरत नेपालीहरु लगायत जुम गुरुङ र उमा गुरुङप्रति आभारसहित धन्यवाद ज्ञापन गरेका थिए । सोही क्रममा कोल्मा बहाकोट समाज युकेका अध्यक्ष चन्द्र गुरुङले तमु समाज युकेका सम्पूर्ण सदस्यहरुलाई छोटो समयमै आर्थिक संकलन गरी कमला गुरुङको परिवारलाई हस्तान्तरण गरेकोमा परिवारको तर्फबाट र कोल्मा बहाकोट समाज युकेको तर्फबाट कृतज्ञता ज्ञापन गरे ।
नेपालमा गण्डकी प्रदेश स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका-४ ओरस्टे गाउँ निवासी कमला हालसालै उच्च शिक्षा हासिल गर्ने उद्देश्यले बेलायत आएको केही दिनमै स्वास्थ्यमा समस्या आई उपचारको क्रममा डिसेम्बर ३ तारिखको दिन रेडिङस्थित रोयल बर्कशायर अस्पतालमा निधन भएको थियो ।
कमला गुरुङको पार्थिक शरीरको अन्त्येष्टि कार्यक्रम गुरुङ संस्कारअनुसार २७ डिसेम्बर २०२३ को दिन रेडिङस्थित क्याभरसाम क्रिमटोरियममा सम्पन्न भएको थियो । उक्त अन्त्येष्टि कार्यक्रममा ठूलो संख्यामा विभिन्न संघ संस्थाका प्रतिनिधिलगायत आफन्तजनहरुको सहभागिता थियो । कमला गुरुङको अन्त्येष्टि कार्यक्रम कोल्मा बहाकोट समाज युकेले आयोजना गरेको थियो ।