लन्डन । रेडिङवासी तमुहरूको साझा संस्था रेडिङ तमु समाजले 'मुप्री ल्हो' ल्होसार भव्य रुपमा मनाएको छ ।
गत शनिबार २३ डिसेम्बरका दिन ५०० जनाभन्दा बढी सदस्य र उनीहरुका परिवारका सदस्यहरूको उपस्थितिमा ल्होसार/ल्होछार मनाइएको हो । समाजका अध्यक्ष रूद्रराज गुरूङको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि तमु धीं युकेका अध्यक्ष हरि गुरूङ र तमु प्हे ल्हु संघका उपाध्यक्ष खेम सर्बुजा गुरूङ थिए । विशेष अतिथिमा ग्रेटर रेडिङ नेपाली समाजका अध्यक्ष भिमसेन खड्कालगायत रेडिङका विभिन्न संघ संस्थाहरूका अध्यक्षहरूको उपस्थिति थियो ।
अध्यक्ष रूद्रराज गुरूङ, संस्थापक अध्यक्ष प्रेम गुरूङ, आमा समूहका अध्यक्ष बिमला गुरूङ र प्रमुख अतिथिद्वय हरि गुरूङ र खेम सर्बुजा गुरूङले पानसमा बत्ती बालेर कार्यक्रम समुद्घाटन गरेका थिए । महासचिव याम गुरूङले सन्चालन गरेको औपचारिक कार्यक्रममा कार्यक्रम संयोजक समाजका प्रथम उपाध्यक्ष देव गुरूङले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा उच्च शिक्षा हासिल गरेको बाबुनानीहरूलाई बधाई तथा समान र विभिन्न कार्य गरी समाजलाई योगदान दिने व्यक्तित्वहरू र नेपालबाट आएका राष्ट्रिय कलाकारहरू निर्जला गुरूङ, चिज गुरूङ र सविन गुरूङलाई पनि सम्मान गरिएको थियो ।
प्रमुख अतिथिहरू र अध्यक्षको ल्होसार शुभकामना मन्तव्यपछि सुरू भएको सांस्कृतिक कार्यक्रममा स्थानीय कालाकार बाबुनानीहरू, आमाबाबा समूह, डीएमटी ब्यान्ड र अतिथि कलाकारहरूको बेजोड प्रस्तुतिले सबै जनाले भरपुर मनोरन्जन लिएका थिए ।
सांस्कृतिक कार्यक्रमको संयोजन सांस्कृतिक सचिव झुमप्रसाद गुरूङ र मिनबहादुर गुरूङले गरेका थिए । साउण्ड सिस्टम चर्चित ब्रो सिस ब्यान्डका गायक दिपु गुरूङले गरेका थिए । कार्यक्रम सफल पार्न राफल ड्र र मीठो स्टारटर सेलरोटी, अचारको परिकारहरू व्यवस्था आमा समूहकी पूर्वअध्यक्ष राजकुमारी गुरूङको संयोजकत्वमा गरिएको थियो भने पेय पदार्थको व्यवस्था समाजको सदस्य कोविन गुरूङको संयोजकत्वमा गरिएको थियो । खानाको व्यवस्था गोर्खा किचेन क्याटरिङ सर्भिस अल्डरसटले गरेको थियो ।
समाजका सबै सदस्यहरूको सक्रिय सहयोग र सहभागितासहित यस वर्षको ल्होसार कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको अध्यक्ष रुद्रराज गुरुङले बताए ।