लन्डन । मोना युकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ । अल्डरटस्थित ठमेल रेष्टुरेन्टमा भएको सभामा संस्थाको सांगठानिक प्रतिवेदन महासचिव विष्णु भण्डारीले प्रस्तुत गरे भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष राम तिलिजाले पेस गरे ।
सभामा म्याग्दीका विभिन्न नगरपालिका र गाउँपालिकाका सचिव तथा प्रतिनिधिले आ आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै मोना युकेका मातहतका विभिन्न उपसमितिका सचिवले आआफ्नो विभागको प्रतिवेदन पेस गरेका थिए ।
यस्तै, सभामा नेपाली बंशजको नागरिकता निरन्तरता संघका अन्तर्राष्ट्रिय संयोजक योगेन क्षेत्रीले नेपाली बंशजको नागरिकता निरन्तरताबारे जानकारी दिँदै अभियानलाई सहयोग गर्न अध्यक्ष कुमार फगामीलाई आग्रह गरे ।
मोना युके शुभकामना साँझ २०२४ का लागि कलाकार राम गगन, नेशन पुन, दीपा गुरुङ, ललिता पुनलाई निम्तो दिइएको छ । साथै बेल्जियम निवासी देवी गर्बुजालाई सम्मान गर्न निम्तो दिइएको छ ।
वार्षिक सभामा मोना युकेको मातहतको म्याग्दी बेनीमा संचालित अक्षयकोष र स्वास्थ्य उपचारका लागि संचालित विभिन्न चन्दाबारे जानकारी दिइयो । कार्यक्रममा अध्यक्ष कुमार फगामी, वरिष्ठ उपाध्यक्ष लाल पुन, महासचिव विष्णु भण्डारी र कोषाध्यक्ष राम तिलिजाले सहजीकरण गरेका थिए ।
सो अवसरमा बिबिसी सर्वेक्षमा १०० प्रभावशाली महिला तथा समाजसेवी सपना रोका मगरलाई सम्मान गरिएको छ । कार्यक्रममा एनआरएनए युकेका निवर्तमान अध्यक्ष योगेन क्षत्री, मोना युके निवर्तमान अध्यक्ष ले. रेशम शेरचन, मोना युके निवर्तमान अध्यक्ष योगकुमार फगामी, संरक्षक दल जुग्जाली, मगर संघ युके उपाध्यक्ष होम रोका, नेपाल लोक तथा दोहोरीगीत प्रतिष्ठान युकेका निवर्तमान अध्यक्ष टंक शेरचन, पुन
मगर समाज युकेका निवर्तमान अध्यक्ष तेज राम्जाली लगायतको उपस्थिति थियो ।
मोना युके अध्यक्ष कुमार फगामीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव विष्णु भण्डारीले संचालन गरेका थिए । वरिष्ठ उपाध्यक्ष लाल पुन (लालु) ले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।