लन्डन । ताङतिङ समाज युकेको वार्षिक साधारणसभा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । समाजका अध्यक्ष तर्कजङ गुरुङको अध्यक्षतामा भएको सभाले २०२४ सालको वार्षिक भेला जुलाई २० र वार्षिक साधारणसभा आगामी २१ डिसेम्बर, २०२४ गर्ने निर्णय गरेको हो ।
त्यस्तै विधान संशोधन समितिको संयोजक भूपू अध्यक्ष केशबहादुर गुरुङले प्रस्तुत गरेको संशोधन प्रस्तावमा सहमति जनाउँदै विभिन्न बुँदा समेट्दै विधानलाई संशोधन गरी अन्तिम रुप दिने निर्णय गरिएको छ । समाजले हाल प्रचलनमा रहेको स्योंरालाई भेटीमा परिणत गर्ने र समाजको सदस्यलाई आर्थिकरुपमा सहयोगहोस् भन्ने उद्देश्यका साथ अर्कै अवधारणाको स्योंरा गर्ने निर्णय गरेको छ । यसका लागि आवश्यक नीति नियम बनाएपछि लागु गर्ने निर्णय छ ।
समाजले २००६ सालमा तोकेको वार्षिक शुल्क बढाउने पनि निर्णय गरेको छ । उक्त नियम अंग्रेजी नयाँ वर्ष १ जनवरीदेखि लागु हुनेछ ।
त्यस्तै समाजले अन्य देशबाट युके घुम्न आएका सदस्यलाई स्वागत तथा भेटघाट गर्ने सम्बन्धमा राष्ट्रियस्तरमा परिचित, निर्वाचित जनप्रतिनिधि र संघसंस्थाका अध्यक्ष उपाध्यक्षबाहेक अन्य पारिवारिक भ्रमणमा आएका सदस्यको स्वागत तथा भेटघाट नगर्ने निर्णय पनि गरेको छ ।
कार्यक्रममा संस्थापक अध्यक्ष क्याप्टेन गौबहादुर गुरुङ एमबीई, भूपू अध्यक्ष तथा ब्रिटिस गोर्खा नेपाल भूतपूर्व सैनिक संघ बेलायत अध्यक्ष केशबहादुर गुरुङ एवं निर्वमान अध्यक्ष तथा निवर्तमान उपमेयर काउन्सिलर लक्ष्य गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सभामा अध्यक्ष तर्कजङ गुरुङज्युले अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष राजेश गुरुङले आर्थिक प्रतिवेदन र महासचिव टौ गुरुङले वर्षैभरि गरेको बैठक तथा निर्णयबारे संक्षिप्तरुपमा प्रकाश पारेका थिए । अन्त्यमा, अध्यक्ष तर्कजङ गुरुङले समाजको सामान्य भेटघाट, वार्षिक भेटघाट, वार्षिक साधरण सभा र अन्य कार्यक्रममा सदस्यले दिंदै आएको साथ र सहयोगको लागि सम्पूर्णलाई धन्यवाद दिए ।
इसेक्सस्थित कार्भर ब्यारेकको विम्बीस भिलेज हलमा भएको कार्यक्रमको संचालन महासचिव टौ गुरुङले गरेका थिए । कार्यक्रमको लागि स्याफरोन वाल्डेन निवासी धनमाया गुरुङ तथा चन्द्रकला गुरुङले भोजन प्रायोजन गरेका थिए ।
ताङतिङ समाज युके कास्कीको मादी २, ताङतिङ पुर्ख्यौली घर भई बेलायतमा छरिएर बसोबास गर्ने ताङतिङकेहरुको साझा संस्था हो ।