लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले आगामी ३१ डिसेम्बर अर्थात पुस १५ गते तमू ल्होछार मनाउने भएको छ । विश्वभर रहेका गुरुङहरुले प्रत्येक पौस १५ गते हुने ल्हो अर्थात् बर्ग परिवर्तनलाई विशेष महत्वका साथ लिने गर्दछ । सोही अनुरुप यस वर्ष विश्वभर रहेका गुरुङहरुले बिरलो बर्गलाई बिदाइ गर्दै गिद्ध बर्गलाई स्वागत गर्दैछन् ।
अल्डरसटस्थित बीसीसी गुम्बामा विविध धार्मिक कार्यक्रमका साथ तमू (गुरुङ) हरुको महान् पर्व ल्होछार मनाउन लागिएको हो । नेपालबाट आमान्त्रित धर्मगुरु खेन्पो किरण तुलाचनको उपस्थितिमा हुने कार्यक्रममा दिप प्रज्ज्वलन, घ्यासी, आयु, छोग, घनचक्र पूजाका साथसाथै आयूको अभिषेक प्रदान गरिने कार्यक्रम ।
ल्होछारका दिन आमान्त्रित खेन्पो किरण, खेन्पो छेवाङ्ग, बीसीसी यूके खेन्पो कर्म छुल्त्रिम, लामा हर्कजंग घले, लामा प्रदीप, लामा पुरनलगायत धर्मगुरुहरुले पूजापाठ गर्ने बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक क्याप्टेन देव घलेले जानकारी गराए ।
बिहान ९ देखि साँझ ५ बजेसम्म संचालन हुने सो कार्यक्रममा नयाँ लुंदा फेरिने भएको हुँदा साथमा सत्क्यु–पत्क्यु र नाङ्ग काटेर आइतबार ३१ डिसेम्बरको बिहान ११ बजे भित्र गुम्बामा ल्याइदिन बीसीसी युकेले अनुरोध गरेको छ । साथै, कार्यक्रमका लागि भोजन दान र दीप प्रज्ज्वलन गर्न चाहने भक्तजनहरुले गुम्बामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
कार्यक्रममा तमू धीं युके, मगर संघ यूके, तामाङ सोसाईटी यूके, थकाली समाज युके, ह्योल्मो समाज युके, रङ्गजुङ्ग येशे उडियना सेन्टर, एनआरएनए युके, शेर्पा एशोसिएसन युके, तमु धीं लन्डन इकाई, साउथ ईष्ट रिजनल तमु धिं लन्डन, तमु धीं हमसायर इकाई, लमजुङ समाज युके, तमु प्ये ल्हु संघ युके, स्थानीय नेपाली संघसंस्था, धार्मिक संघसंस्था, बीसीसी लन्डन ब्रान्चलगायत संघसंस्थालाई आमन्त्रण गरिएको बीसीसी युकेले जनाएको छ ।
बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङले ल्होछार कार्यक्रमका दिन आयोजना हुने धार्मिक पूजापाठमा सहभागी हुन सबैमा अनुरोध गरेका छन् ।