लन्डन । गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु तमुधिं यूकेको 'आदर्श तमु २०२२' अवार्डबाट सम्मानित भएका छन् ।
तमुधिं यूकेको शनिबार २२ अक्टोबरका दिन आयोजित परोपकारी रात्रिभोज कार्यक्रममा प्रमुख अतिथि नेपालका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले तमुलाई अवार्ड हस्तान्तरण गरेका हुन् । सम्मानित तमु तमुधिं यूकेको आजीवन सदस्य हुन् । अवार्ड ग्रहणमा तमुकी पत्नी विमला गुरुङ पनि सहभागी भएकी थिइन् ।
पूर्वगोर्खा तमु दुई दशकभन्दा लामो समयदेखि बेलायतमा फोटो पत्रकारितामा सक्रिय छन् । दुई वर्षअघि तमुले एकल स्वामित्वमा गोर्खा मिडिया डटकम अनलाइन सञ्चालनमा ल्याएका छन् ।
पत्रकारिता र समाजसेवामा सक्रिय गुरुङ नेपाल पत्रकार महासंघ बेलायत शाखा कार्यकारिणी सदस्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज यूके)का सल्लाहकार, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका सल्लाहकार जस्ता विभिन्न संघसंघमा आबद्ध छन् ।
यस्तै तमु आदर्श अवार्डबाट तमुधिं यूकेका सल्लाहकार मेजर कृष्ण गुरुङ, पूर्वखेलकुद सचिव तथा क्वोंने (घोताने/घोण्डे) तमु (गुरुङ) समाज यूकेका अध्यक्ष क्या. पिताम्बर गुरुङ, सल्लाहकार तथा गोर्खा ट्राभल्सका प्रबन्ध निर्देशक दिलरास गुरुङ र सहारा यूकेकी 'फस्ट लेडी' पन्च गुरुङ पनि सम्मानित भएका छन् ।
को हुन् मिलन तमु
नेपाली डायस्पोरामा सर्वाधिक चर्चामा आइरहने एउटा व्यक्ति छ, जो आफ्नो कर्ममा विश्वास गर्छ, लगनशीलता र मेहनतमा रमाउँछ । सरलता र ईमान्दारितामा खुशी हुन्छ, समाज सेवालाई परम धर्म ठान्छ, अविछिन्न समाज सेवामा लागिरहन्छ । वहाँ समाजमा एउटा उदाहरणीय व्यक्तिको रुपमा चिनिनुहुन्छ । वहाँ हुनुहुन्छ, मिलन तमु गुरुङ ।
मर्दि हिमालको काखमा अवस्थित माछापुछे गाउँपालिका अन्तर्गतको रमणिय गाउँ रिभान मिलनको पुर्जीली गाउँ हो । पोखरा महानगरपालिका नयाँबजारको स्थायी बासिन्दा मिलन हाल श्रीमती बिमला गुरुङ, छोरा मिसाल गुरुङ र मिसान गुरुङ र बुहारी अक्षिता गुरुङको साथमा बेलायतको अल्डरसटमा बस्नुहुन्छ ।
सन् १९६५ मा बुवा शिरधोज गुरुङ र आमा स्व. डिलकुमारी गुरुङको पहिलो सन्तानको रुपमा हङकङमा वहाँको जन्म भएको हो । मिलनको वाल्यकाल पुर्जीली गाउँमै बितेको हो। दुखको कुरा २÷३ वर्षको कलिलो उमेरमा आमाको देहावसान भएकोले वहाँ आमाको माया र स्नेहबाट वञ्चित रहनुपर्यो । गाउँको विद्यालयबाट प्राथमिक शिक्षा प्राप्त गरेपछि बराह माध्यमिक विद्यालय भेडाबारी बाट एस.एल.सी. सम्मको अध्ययन पश्चात वहाँ ब्रिटिश आर्मीमा भर्ती हुनु भयो । ब्रिटिश आर्मीमा १८ वर्ष सेवा गरेर सेवा निवृत्त भए पश्चात दोस्रो करियरमा वहाँ बुनाई GRU मा जानुभयो ।
बेलायत सरकारले गोर्खा सैनिकको परिवारलाई बेलायतमा रहन पाउने आवाशिय भिषा प्रदान गरेपछि वहाँ पनि बेलायतमा आईपुग्नु भयो । यो २००५ को समय थियो । बेलायत आगमन पश्चात तमु धीं यूकेको आजीवन सदस्य बन्नु भयो र लगत्तै कार्यसमितिमा रहेर लामो समय सेवा गर्नु भयो । तमु धीं यूके नेपाली डायस्पोराकै ठूलो र क्रियाशिल संस्था हो । गोर्खाकप, नेपाली मेला, तमु प्रतिष्ठान नेपालको सहयोगार्थ गरिने च्यारिटी डिनर साँझ, डा. हर्क गुरुङ र डा. चन्द्र गुरुङ स्मृति दिवस, कल्याणकारी (आजीवन सदस्य) डिनर साँझ, तमुहरुको महान पर्व ल्होछार र तमु धीं यूकेले आयोजना गरेको नेपालको अवलोकन अध्ययन भ्रमण लगायतको कार्यक्रमहरुमा वहाँको साथ र सहयोग रहिरहन्छ । यो तमु धीं प्रति वहाँको त्याग र तपस्या हो, तमु धीं यूके प्रतिको सेवा र समर्पणको भाव हो, हामी सबैले यसको सराहना गर्नु पर्दछ ।
बृटिश लाहुरेको छोरो बृटिश लाहुरे जनजातिको छोरोको परिचय भएको मिलन तमुले आफुलाई छुट्टै परिचयले चिनाएको छ । मुलत फोटो पत्रकार वहाँको चिनारी हो । तर त्यतिले मात्रै वहाँको परिचय खुल्दैन । बेलायतबाट प्रकाशित भएको एभरेष्ट साप्ताहिकमा आवद्ध भएर पत्रकारितामा ठूलो योगदान गर्नुभयो । अहिले वहाँले आफ्नो स्वामित्वमा गोर्खा मिडिया अनलाईन पत्रिका संचालन गरिरहनु भएको छ । गोर्खा मिडियाको वहाँ प्रबन्ध निर्देशक हुनुहुन्छ । प्रत्येक नागरिकले पाउनुपर्ने सूचनाको हक प्रदान गरि समाजलाई ठूलो गुण लगाईरहनु भएको छ । यो समाज परिवर्तनको सूचक हो, सम्बाहक हो, यो हाम्रो लागि गर्वको विषय हो ।
त्यसैगरि वहाँ गीत लेखनमा पनि सकृय हुनुहुन्छ । रोधी घरको आँगन बोलको गीत भाग १ बाट क्रमश ३ भाग सम्म सार्वजनिक गर्नुभएको छ । जुन दर्शक र स्रोताले अत्यन्त रुचाएको गीतमा दर्जा भएको छ । त्यस्तै वहाँले अत्यन्त सफल गुरुङ चलचित्र युम्पो देउराली निर्माण गर्नु भएको छ । यस अतिरिक्त वहाँले आफ्नो गाउँ लगायत नेपालको विभिन्न ठाउँहरुमा बाटो, मन्दिर, गुम्बा र क्होइबो निर्माणमा सहयोग गर्नु भएको छ ।
वहाँले समाजलाई गर्नु भएको योगदानको कदर स्वरुप वहाँले प्राप्त गर्नु भएको मेडल, आभुषण, सम्मान र कदर पत्र निम्नानुसार रहेको छ ।
क) Long service and good conduct medal
ख) Kosvo conflict medal
ग) Brunei medal
घ) विशेष सम्मान सहारा यूके २०१६
छ) हर्कबहादुर स्मृति पुरस्कार
वहाँ आबद्ध रहनुभएका विभिन्न संघ संस्थाहरुः
१) तमु प्ये ल्हु संघ युके
२) तमु समाज युके
३) एभरेष्ट टाईम युके
४) तमु संसार नेपाल
५) तमु कलाकार संघ नेपाल
६) तमु चलचित्र संघ (जिफान) नेपाल
७) गोर्खा मिडिया
८) गुरुङ साहित्यिक मञ्च नेपाल
९) लोक बहादुर स्मृति प्रतिष्ठान नेपाल
१०) सहारा युके
वहाँका शौखः
१) ब्याडमिन्टन खेल्ने
२) नयाँ ठाउ घुम्ने
३) फोटोग्राफी