गुरुङ (तमु) हरुको जन्मदेखि मरणसम्मको सबै कर्मकाण्डहरु ल्हो (बर्ग) को आधारमा गरिन्छ । पुस १५ को दिन नयाँ बर्ग (ल्हो ) सुरु हुन्छ अर्थात् १५ पुस भन्नाले १४ पुसको राति १२ बजेदेखि बुझ्नु पर्छ । प्रा डा जगमान तमुको भनाइ अनुसार १५ पुसको बिहान गौरीशंकर हिमालको टुप्पामा झुल्के घाम लागेदेखि नयाँ बर्ग (ल्हो ) फेरिन्छ ।
ल्होछार/ल्होसार गुरुङहरुले मात्र नभएर अन्य जात-जातिहरुले पनि आ-आफ्नै जातीय परम्परा अनुसार मान्दछन् । तिब्बतको कैलाशपर्वत र नेपालको हुम्ला, जुम्ला, मुगु, डोल्पा र भुटानका केही समुदायहरुले तोल-लो सर मनाउँछन् भने पश्चिमी तिब्बतका जनताहरु र नेपालका तामाङ समुदायले सोएनम लो सर (सोनाम ल्होसार) मान्दछन् । ल्हासा एवं पूर्वी तिब्बतका जनताहरु तथा नेपालका शेर्पा समुदायले ग्याल्पो लो सर (ग्याल्पो ल्होसार) मान्दछन् । तमुहरुले सौंरमास अनुसार पुस १५ गतेका दिन तमु ल्होछार/ल्होसार मान्दछन् । गुरुङ समुदायको लागि नयाँ वर्ष हुनाले यस पर्वलाई तमु ल्होछार/ल्होसार भनिएको हो ।
गुरुङहरुले आफ्नो मौलिक भाषामा आफूलाई तमु भन्दछन् र तमुको अर्थ फलामको हतियार अर्थात् बञ्चरो धारण गर्ने लडाका हो । गुरुङ भाषा-भोट बर्मेली भाषाको नजिक पर्ने भाषा हो र गुरुङ भाषाको माउ भाषा पनि तिब्बती भाषा हो । अत : गुरुङ भाषालाई तिब्बती भाषाबाट विकसित भाषा पनि मानिन्छ । नेपालको भोट बर्मेली भाषा परिवारका विभिन्न भाषा समूहमध्ये तामाङ र थकाली भाषासँग पनि धेरै नजिकको सम्बन्ध छ । तिब्बती भाषाको लो-गसर शब्दबाट गुरुङ भाषाको ल्होछार शब्द बनेको हो । यसैले लो-गसर मूल शब्द हो भने ल्होछार तत्भव शब्द हो ।
तमुहरुले पृथ्वीमा रहेका सजीव प्राणीहरुको क्रियाकलापहरुमा आधारित १२ वटा ल्हो (बर्ग) र ५ तत्वमा आधारित ९ मेऊको महत्व राख्दछन् र जन्मदेखि मृत्यसम्मको सचेतनलाई १२ ल्हो र ९ मेऊको आधारमा गरिन्छ । गुरुङहरु १५ पुसका दिन नयाँ वर्ष (ल्होछार/ल्होसार) को रुपमा मान्ने भएकाले उक्त दिन ग्रह-दशा शान्ति, कुशल मंगल प्राप्तिको लागि घिउको बत्ती बालेर चोखो पानी, फूल, अक्षता चढाई स्युँरीको धूप बालेर सिल्दोनाल्दो (सिमेभूमे) खेमा र फैँलु (कुलदेवता)को पूजा गर्छन् ।
धागोको डोरी (रिफु) लाई बेसारमा मलेर पुरुषहरुलाई नौसरा (नौगाँठो) र महिलाहरुलाई सातसरा (सात गाँठो) बनाएर मान्यजनहरुबाट घाँटीमा लगाई स्याँई स्याँई गरी आशीर्वाद थप्छन् साथै सबैले एक आपसमा आशिमलाँ अर्थात् हार्दिक शुभकामना आदानप्रदान गर्छन् । गाउँघरमा १५ पुसका दिन अर्थात् १४ पुसका राति १२ बजेदेखि नयाँ वर्ष (ल्होछार/ल्होसार) सुरुआतको खुशीयालीमा गाउँका बुढापाका, ठीटा तन्नेरीहरु सबै मिलेर मुखियाको घरमा अथवा रोधीँघरमा जम्मा भएर मीठामीठा परिकारहरु बनाएर खाने चलन छ । प्रत्येक घरबाट जाँडरक्सी, चामल, घिउ, नुन, मसला र मासुको लागि पैसा जम्मा गरेर खाने भएकोले पुस १५ स्योँक्याँई भनिन्छ । यसरी १४ पुसका (मध्यरात) १२ बजेदेखि नयाँ वर्ष सुरु हुने भएकोले १२ बजेभन्दा पछि र १२ बजे अगाडि ठीक एक वर्षको अन्तरल पर्छ ।
बाह्र वर्षमा त्यही ल्हो (बर्ग) दोहोरिएर आउने हुनाले यसलाई छार (नयाँ) भन्नु हुँदैन भन्ने मान्यता छ । यसैले ल्होछार नभएर ल्होसार भन्नु पर्दछ भन्ने विचार भएकाहरु पनि पाइन्छ । सार (फ्हाँर) भन्नाले कुनै पनि फल र अन्नहरु फल्नुभन्दा अघिको उक्त फल र अन्नको फूललाई बुझाउँछ । यसरी एउटै फलको बोट वर्षैपिच्छे फल दिनको लागि फुलेजस्तै बाह्र वर्षमा दोहोरिएर आउने ल्होलाई साराब (फ्हाँराब) अथवा छोटकारीमा "सार'' भनेर अर्थ गर्न नसकिने होइन तर तमु भाषाको लिपी प्रस्ट नभएकाले यस्ता समस्याहरु आई पर्दा तमु भाषाको नजिक भाषा तामाङ र थकली भाषाको सहयोग लिनु पर्दछ र त्यसबाट पनि समाधान भएन भने आफ्नो मूल (माउ) भाषा तिब्बती भाषाको सहारा लिनु आवश्यक छ ।
तिब्बती भाषाको "लो" शब्दबाट गुरुङ भाषाको ल्हो शब्द बनेको हो । तिब्बती भाषामा लो शब्दले संम्वत, वर्ष र उमेरको अर्थ बुझाउँछ । यसैगरी सरब शब्दले नयाँ भन्ने अर्थ बुझाउँछ र त्यही सरब शब्दको छोटकारी रुप "सर" हो । अत: तिब्बती भाषाको सर शब्दले नयाँ वर्ष भन्ने अर्थ बुझाउँछ । बाह्र वर्षमा उही लो आउने भए त पनि चीन, तिब्बत देशहरुमा त्यस लो (वर्ष) लाई नयाँ नै मान्ने चलन छ । तिब्बती भाषाको "छ्युँ" (पानी) शब्दबाट गुरुङ भाषाको क्युं (पानी) शब्द बने जस्तै तिब्बती भाषाको "सर" शब्दबाट गुरुङ भाषाको "छार" शब्द बनेको छ । यसकारण तिब्बती भाषामा लोसर भनिन्छ भने गुरुङ भाषामा त्यसैलाई ल्होछार भनिन्छ । ल्होसर तिब्बती भाषाको मूल शब्द हो भने ल्होछार त्यस मुल शब्दबाट बनेको तत्भव शब्द हो । यसकारण गुरुङहरुको परम्परागत मौलिक शब्द तथा माउ भाषाबाट सम्प्रेषित तथा प्रमाणित शब्द भएकाले "ल्होसार" भन्नु भन्दा "ल्होछार" शब्दको प्रयोग नै उपयुक्ता होला । तर आज २१ औं शताब्दीको संघारमा आएर पनि हामी गुरुङ (तमु) हरु यसरी एक आपसमा विवादित भएर बस्नुभन्दा यसको सही निवारण खोज्नु पर्छ। "भाइ मिले पहरा फोड्छ तर भाइ फुटे गवाँर लुट्छ" भन्ने बुढापाकाहरुको उखान ताजै छ ।
वास्तवमा गुरुङ (तमु) हरुको "गोत्र" छैन । यो सबै गुरुङ (तमु) हरुले छर्लाङ्ग बुझ्न जरुरी छ । हाल कतैकतै गुरुङ (तमु) हरुले विवाह, नाच (शुभकार्य) हरुमा गोत्र सोध्ने चलन छ तर अहिले हामीले चलाउने गोत्र भनेको वाहुनहरुले दिएका गोत्र हुन्, अर्थात् बाहुनले दिएको जात हो । आखिर गोत्र भनेको के हो त ? छोडकारीमा भन्नु पर्दा गोत्र भनेको जात अर्थात् वंश हो । हिन्दु परम्पराअनुसार एउटै समुदायमा बस्ने मानिसहरुलाई सानु र ठूलो जातको वर्गीकरण गरेर छुट्याए र बाहुन जात सबैभन्दा ठूलो जातमा राख्यो । “टुप्पीभन्दा माथि कपाल छैन, बाहुनभन्दा माथि जात छैन" यो भनाइ आज सत्य साबित भएको छ ।
गुरुङ (तमु ) हरु पनि गोत्र को यथार्थ नै नबुझी गोत्रको आधारमा सानो र ठूलो जात भन्न थाले । चारभाइ, नौ भाइ र सोह्र भाइ भनेर तँ तँ म म गर्न थाल्यो । यथार्थमा यो सबै गलत छ । गुरुङ (तमु) हरुको आफ्नै थर तथा वंश छ । गुरुङ (तमु ) विद्वानहरुको अभिलेख अनुसार झन्डै पाँच सय भन्दा बढीको हराहारीमा गुरुङ (तमु) हरुको थर उल्लेख गरिएको छ तर यी थरहरुभित्र ठूलो र सानो जात भनेर छुट्ट्याएको कतै उल्लेख छैन ।
बाहुनले दिएको गोत्रको आधारमा जाने हो भने हाम्रा पिता, पुर्खा, बाजे ज्युज्युहरुको वंशवृक्षमा हामी कतै मेल खाँदैनौँ तर आज हामी विवाहवारी चलाउँदा एउटै वंश अथवा थरभित्र नपरोस् भन्ने खातिरले आफ्नो थर अथवा वंश भने थाहा हुन जरुरी छ । आफ्नो बाउबाजे, ज्युज्युहरु कहाँबाट आएका हुन् ? कुन थर अथवा वंशको हो इत्यादि । तर नेपालको कानुनअनुसार सात पुस्ता कटेपछि एउटै थर अथवा वंशभित्र पनि सोलीडोली चल्छ भनेर उल्लेख गरिएको छ । समग्रमा वंश भनेको आफ्नो पुर्ख्यौली सन्तान हुन् ।
अतः एउटै वंशभित्र सानो र ठूलो जात कहिल्यै हुँदैन तर सानो बाजेको सन्तान र ठूलो बाजेको सन्तानहरुबाट साईनोमा भने ठूलो र सानो हुँदै जान्छ । आज गुरुङ (तमु) हरु बाहुनले छरेको भ्रमबाट प्रभावित भएर तँ ठूलो र म ठूलो भन्दै विभाजित भएका छन् ।
बेलायतको सन्दर्भमा भन्नु पर्दा तमु धीँ युके र तमु प्हे ल्हु संघ युके एउटै समुदायका गुरुङ (तमु) दाज्युभाइ, दिदीबहिनीहरु हुन् । तर आज विभाजित भएर दुई समूहमा छन् । नेपालमा पनि गुरुङ (तमु) दाज्युभाइ, दिदीबहिनीहरुभित्र समूह-समूहमा विभाजित भएर बसेका छन् । यसो हुनु हामी सबै गुरुङ (तमु) हरुका लागि दुर्भाग्य हो । एकता नै बल हो । मञ्चमा भाषण गरेर, किताबमा कथा लेखेर कहिल्यै परिवर्तन अर्थात् एकता हुँदैन । परिवर्तन र एकताको लागि व्यवहारिकतामा आउनुपर्छ । समग्रमा हामी सबै एउटै समुदायका दाज्युभाइ, दिदीबहिनीहरु हौं । जातमा कोही सानो र कोही पुर्ख्यौंलो छैन र पुरली इतिहास हेर्ने हो भने पनि हामी एउटै पुर्खाका सन्तानहरु हौं ।
अतः हामी मिलेर एउटै समूहमा बसौँ, एक आपसमा भाइचारा, माया, सद्भाव राखौं र हरेक वर्षको नयाँ वर्ष (ल्हो) ल्होछार/ल्होसार पर्व पनि सँगै मानाऔं । ल्होछार/ल्होसार आशिमलाँ ॥