स्याङ्जा । बेलायतमा बसोबास निवासी दिलीपकुमार गुरुङ एमबीईले स्याङ्जाको बिरुवा गाउँपालिका–४ मडकिना भन्ज्याङस्थित आफ्नो पुरानो निवासलाई सांस्कृतिक सङ्ग्रहालयमा परिणत गरेका छन् ।
नेपालको मौलिकता झल्किने गरी तयार गरिएको उक्त सङ्ग्रहालयमा पुराना भाँडावर्तन, बाजागाजा, भेषभूषा, तथा जनजीवनसँग जोडिएका विविध सामग्री प्रदर्शनमा राखिएका छन् । सङ्ग्रहालयमा प्रवेश गर्दा नेपालका विभिन्न भूभागको संस्कृति, कला र जीवनशैलीको झल्को पाइन्छ ।
गुरुङले आफ्नी आमा स्वर्गीय लालमाया गुरुङको सम्झनामा यो संग्रहालय स्थापना गरेका हुन् । बेलायती सेनाबाट अवकाशप्राप्त गुरुङ सामाजिक क्षेत्रमा सक्रिय छन् । उनले यसअघि संग्रहालय नजिकै रहेको श्री १००८ माता चम्पागिरी जन्म संन्यास आश्रममा यज्ञशाला निर्माणका लागि उनले १० लाख रुपैयाँभन्दा बढी खर्च गरेका थिए ।
स्याङ्जा जिल्लामै पहिलो सांस्कृतिक सङ्ग्रहालयको रूपमा चिनिएको यस स्थान विद्यार्थी, शोधकर्ता र पर्यटकका लागि अध्ययन तथा अवलोकनको थलो बन्ने अपेक्षा गरिएको छ । सङ्ग्रहालयमा गोर्खाली सैनिक, भिक्टोरिया क्रस विजेता नेपाली सेनाबारे जानकारी दिने सामग्रीसमेत राखिएको छ ।
गुरुङ ‘आफ्नो ठाउँ, आफैँ बनाऊँ’ भन्ने सोचका साथ सामाजिक काममा सक्रिय रहँदै आएका छन्। उनी सहारा क्लब पोखराका संस्थापक तथा हाल सहारा युकेका अध्यक्षसमेत हुन् । उनले गोरखा घेरुङस्थित भूकम्पले ध्वस्त बनाएको गणेश प्राथमिक विद्यालय पुनर्निर्माणमा समेत सहयोग गरेका थिए ।
त्यस्तै, स्याङ्जाको कोल्मा उच्च माध्यमिक विद्यालयमा ताररहित इन्टरनेट जडान गराउन तथा अस्पताल निर्माणका लागि निजी जग्गा सरकारलाई हस्तान्तरण गरेका छन् ।
समाजसेवामा उल्लेखनीय योगदान दिँदै आएका गुरुङ नेपाल सरकारबाट ‘समाजसेवी पदक’सहित दर्जनौँ पुरस्कार तथा सम्मानबाट विभूषित भइसकेका छन् ।