पोखरा। नावालिग बलात्कार अभियोगमा उच्च अदालत पोखराले अभिनेता पल शाहलाई दिएको सफाइको फैसला सर्वोच्च अदालतले दोहोर्याएर हेर्ने भएको छ । उच्चले गत वर्ष फागुनमा शाहलाई दिएको सफाइविरुद्ध सर्वोच्चमा मुद्दा दोहोर्याइ पाउँ भनी परेको निवेदनमा न्यायाधीश सुष्मालता माथेमा र हरि फुयालको इजलासले फैसला दोहोर्याएर हेर्न अनुमति दिएको हो ।
उच्च अदालत पोखराका तत्कालीन कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई नावालिग बलात्कार मुद्दामा सफाइ दिएको थियो । फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले दोहोर्याइ पाउँ भनी निवेदन दिएकोमा २२ मंसिरमा सर्वोच्चले सुनुवाइ गर्दै दोहोर्याएर हेर्ने अनुमति दिएको हो ।
सर्वोच्चका आदेशमा भनिएको छ, ‘यसमा पीडित नावालक रहेको देखिएकोले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स.ज.११ मा गरेको स्वीकारोक्तिसमेतका प्रमाणको समूचित मूल्यांकन नगरी भएको उच्च अदालत पोखराको फैसलामा प्रमाण ऐन, २०३१ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (१) र (२) को व्याख्यात्मक त्रुटि र ने.का.प. २०७५ अंक ११ नि.नं.१०१३२ समेतमा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल भई न्याय प्रशासन ऐन, २०७४ को दफा १२ (१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान देखिँदा प्रस्तुत मुद्दा दोहोर्याइ हेर्ने अनुमति प्रदान गरिएको छ ।’ निवेदनमा परिवर्तित नाम २०७८ गैंडाकोट ५(ख) को जाहेरीले नेपाल सरकार उल्लेख छ भने प्रतिवादीमा पल शाह भन्ने पूर्णविक्रम शाह लेखिएको छ । नेपालको संविधान (२०७२) को धारा ११३ (४) मा सर्वोच्च अदालतलाई मुद्दा दोहोर्याएर हेर्ने अधिकार हुने संवैधानिक व्यवस्था छ ।
आफूमाथि बलात्कार भएको भन्दै पलविरुद्ध नावालिग पीडितले ११ फागुन, २०७८ मा तनहुँ र १५ फागुनमा नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् ।
दुवै जिल्ला अदालतमा चलेको सो मुद्दामा तनहुँले पललाई सफाइ दिए पनि नवलपुर अदालतले बालयौन दुरुपयोग आरोपमा साढे २ वर्ष कैद, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति भराई पाउने फैसला सुनाएको थियो । सो सम्बन्धमा उच्च अदालत पोखरामा परेको निवेदनमा वर्ष १४ फागुनमा पललाई सफाइ दिइएको हो ।
जेलजीवनको ठिक १ वर्षपछि उच्चको सफाइसँगै नियमित काममा फर्किएका पल र तिनका शुभचिन्तकलाई भने यो आदेशले फेरि दुखित बनाएको छ ।