लन्डन । बेलायतको चारदिने भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भूपू गोर्खा लगायत विदेश बस्ने नेपालीको समस्याबारे संसदमा बरोबर आवाज उठाउने आश्वासन दिएका छन्।
नेपालीहरुको उल्लेख्य बसोबास रहेको अल्डरसटस्थित एम्पाएर हलमा मंगलबार साँझ आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू पनि विदेशमा बसेको भुक्तभोगी भएकाले यस सम्बन्धमा संसदमा बारम्बार आवाज उठाउने बताएका हुन्।
पछिल्लो समय पारित नागरिकता विधेयकबारे रास्वपाले संयुक्त छलफल गरेर मात्र अघि बढाउनुपर्ने अडान लिए पनि आफूखुसी पारित गरिएको उनले बताए।
उनले विश्वभर नेपाल र नेपालीको नाम उच्च राख्ने भूपू गोर्खाहरूलाई वेवास्ता गर्न नहुने र उनीहरुको माग तथा मुद्धा यथाशक्य चाँडो सम्बोधन गरिनुपर्ने उनको धारणा थियो । आफू नेपाल फर्किएलगत्तै यस विषयमा पहल गर्ने उनले बताए।
पार्टीको मिसन ८४ प्रस्टयाउन तल्लीन उनले बेलायतमा भूतपूर्व गोर्खा र विद्यार्थीका माग सम्बोधन गर्न पनि चासो व्यक्त गरे।
उनले देश विकासमा विदेश बस्ने नेपालीहरुको ठूलो भूमिका रहेको भन्दै ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने आफ्नो पार्टीको धारणा रहेको बताए । यसलाई सार्थकता दिन अन्य पार्टीबाट सम्भव नभएकाले एकपटक आफ्नो पार्टीलाई देश बनाउने जिम्मा दिन पहल गर्न उनले आग्रह गरे । आफ्नो भाषणमा अधिकांश समय उनले देशमा व्याप्त बेतिथी र भ्रष्टाचारको टिप्पणी गरे ।
बेलायतमा विद्यार्थीले ठूलो समस्या भोग्नुपरेको भन्दै बेलायतमा एउटा ‘हेल्प डेस्क’ सञ्चालन गर्ने तयारी भइरहेको बताए । यहाँका नेपालीहरुले भोग्नुपरेका समस्यालाई उक्त हेल्प डेस्कमार्फत समस्या समाधान गर्न आफ्नो पार्टीले काम गर्ने भएकाले यसका लागि सहयोग गर्न उनले बेलायतवासीसँग आग्रह गरे ।
उनले भूपू गोर्खाका मुद्दा, नागरिकतासम्बन्धी हालै लागू गरिएको विधेयक, राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्धित विषयमा राखिएका जिज्ञासा प्रस्ट पारे ।
कार्यक्रममा ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबिजी) ले गोर्खाली हाम्रो पहिचान वंशजको नागरिकता हाम्रो अधिकार भन्ने नारासहितको ज्ञापनपत्र हस्तान्तरण गरे । पूर्व गोर्खाहरुले नेपाली नागरिकता ऐन २०६३ को दफा १० को उपदफा १ संशोधन गरि त्रिपक्षीय सन्धि अन्तर्गत भर्ती भएका गोर्खा तथा निजका सन्ततिहरुको नागरिकता निरन्तर कायम रहने व्यवस्था कायम गरियोस् भन्ने माग राखेका छन् ।
पत्नी नीकिता पौडेल र स्वकीय सचिव एवं पार्टीका केन्द्रीय सदस्य दीपक बोहोरा सहित १० डिसेम्बरमा बेलायत आएका थिए । भ्रमणमा उनले थुप्रै कार्यक्रमबीच बेलायतवासी नेपालीसँग भेटघाट र अन्तरक्रिया गरे ।
उनको भ्रमणको संयोजन प्रवास नेपाली सम्पर्क विभाग यूकेका सदस्य तथा नेपाली समाज विल्टसायर यूकेका अध्यक्ष ज्ञानप्रसाद गुरुङले गरेका थिए ।