लन्डन २१ अगस्ट २०२२ । तमुधिं यूकेले १३ औं नेपाली मेला २०२२ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
मिचेटस्थित आफ्नै घर तमुधिं भवनमा आइतबार तमुधिं युकेका अध्यक्ष हित काजी गुरुङको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा अगस्ट २८ तारिखमा हुने मेलाको तयारी करिब पूरा भएको जानकार दिइएको हो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्याललगायत दुई दर्जन पत्रकारहरु र तमुधिंका कार्यसमिति, आमा समूहका प्रतिनिधि, इकाई प्रमुखहरु, सल्लाहकार र सदस्यहरुको उपस्थिति रहेको थियो ।
अध्यक्ष गुरुङले उपस्थित पत्रकारहरुलाई धन्यवाद दिँदै अगस्ट २८ तारिखमा हुन गइरहेको मेलाको बारेमा यथार्थ समाचार सम्प्रेषण गरिदिन अनुरोध गरे । मेला संयोजक वरिष्ठ उपाध्यक्ष हरि गुरुङले मेलाबारे विस्तृत जानकारी गराएका थिए ।
१३औं नेपाली मेला पनि सदाझैं क्याप्टनपार्क रेसकोसमा हुने र ३२ वटा संघसंस्थाहरुले भाग लिनेछन् । १४ वटा नाच प्रतियोगिताका लागि प्रस्तुत गरिनेछ । नेपाली मेला तमुधिं युके र नेपाली दूतावास लन्डनको सहकार्यमा हुने जानकारी आयोजकले दियो । नेपाली भेषभुषा, संस्कुति, संस्कार झल्किने विशेषता बोकेर लन्डनमा प्रत्येक साल अगस्ट महिना हुने मेलामा सहभागी भई उत्कृष्ट समूहलाई आकर्षक पुरस्कारहरु पनि राखिएका छन् । एम्वेस्डर कप राजदूतावासबाट प्रायोजित हो भने नगद तमुधिंबाट र स्पोन्सरहरुले गरेका छन् । कपलगायत पहिलो १ हजार १ सय, दोस्रो ७ सय र तेस्रो हुनेलाई ५ सय पाउन्ड पुरस्कार राखिएको छ । त्यस्तै पहिलो हुनेलाई एनआरएनए कप र नगद पनि राखिएको छ ।
झाँकीतर्फ ५ सय, ३ सय र २ सय पाउन्ड क्रमश: पुरस्कार दिइने आयोजकले जनाएको छ । नाच तर्फका विजेताहरुलाई क्रमशः ५ सय, ३ सय र २ सय पाउन्ड पुरस्कार राखिएको छ । विजेताहरुलाई मेडल पनि दिइनेछ । मेलाको अर्को आकर्षक राफल ड्र राखिएको छ। पहिलो पुरस्कार एक तोला सुन, दोस्रो र तेस्रो आइप्याड, प्रायोजकहरु क्रमश: अनुग्रह जोलर्स, गोर्खा ट्राभल र एभरेष्ट लिङ्क हुन् ।
मेलाका लागि ३७ हजार पाउन्डभन्दा बढी खर्च लाग्ने अनुमान आयोजकले गरेको छ। पत्रकारहरुले उठाएका प्रश्नको जवाफ मेला संयोजक हरि गुरुङ र अध्यक्ष हित काजी गुरुङले दिएका थिए । अध्यक्ष गुरुङले तमुधिं एक जातीय संस्था भए तापनि आफूहरुको कार्यक्रमहरु समस्त नेपालीलाई समेटेर गरिरहेको सबैलाई अवगत नै रहेको भन्दै १३औं नेपाली मेलालाई भव्यताका साथ सफल बनाउन पत्रकारहरुको ठूलो भूमिका रहने बताए ।
नेपाली मेलालाई सफल बनाउन थुप्रै प्रायोजकहरु रहेको जानकारी दिइयो । एलएन पान्डे ११ सय, ग्लोबल आइ एम ई नेपाल ७ सय, एनआरएन आइसीसी समीर ५ सय, आई एम ई लन्डन कमल ५ सय, पुरन गिरी ३ सय, एल बी जेड २ सय, निमा शेर्पा ५ सय, देवान गुरुङ ३ सय र सुला श्रेष्ठले २ सय पाउन्ड प्रायोजन गर्नेछन्।
कार्यक्रम तमुधिं युकेका महासचिव परशुराम गुरुङ र मिडिया सेक्रेटरी एस के गुरुङले संचालन गरेका थिए ।