लन्डन । गौतम बुद्ध र लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धनका लागि बुद्ध फाउन्डेसन युके जुट्ने भएको छ ।
आइतबार लन्डनमा सम्पन्न फाउन्डेसनको कार्यसमिति तथा सल्लाहकारको बैठकले स्थानीय तहसँग संस्थागत सम्बन्ध विकासका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिका, बुद्धले २९ वर्ष बिताएको कपिलवस्तु नगरपालिकाअन्तर्गत तिलौराकोट, बुद्धको मावली देवदह नगरपालिका, बुद्धको अष्टधातु रहेको रामग्राम नगरपालिकासँग फाउन्डेसनले सहकार्य गर्नेछ ।
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वय शाखा प्रमुख तुलसीराम लामिछानेले लुम्बिनी र बुद्ध परिपथको पर्यटन प्रवद्र्धनका लागि बुद्ध फाउन्डेसन यूकेले गर्दै आएका गतिविधिको प्रशंसा गरे ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनी र बुद्धपरिपथलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग सहकार्यको नीति लिएको जानकारी गराए ।
बुद्ध फाउण्डेसन युके अध्यक्ष दीपक श्रेष्ठले लुम्बिनी सांस्कृतिक नगरपालिकासहितका स्थानीय निकायसँग सहकार्यको अवसरले आफूहरुलाई उत्साहित बनाएको बताए ।
कार्यक्रममा सल्लाहकारद्वय विनोद ज्ञवाली र डा. हरिश ज्ञवाली, पासा पुच साउथ इष्ट अध्यक्ष माधवलाल श्रेष्ठ र इनास अन्तर्राष्ट्रिय कमिटी उपाध्यक्ष मनिषकुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।