लन्डन । गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु पुरस्कृत हुने भएका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले उनलाई यस वर्षको पत्रकारिता पुरस्कार दिने निर्णय गरेको हो।
पत्रकार तमु लामो समयदेखि फोटो पत्रकारितामा क्रियाशील छन् । उनले ३ वर्षदेखि आफ्नै मिडिया गोर्खामिडिया डट कम संचालन गर्दै आएका छन् ।
विभिन्न सामाजिक संघसंस्थामा आबद्ध उनले यसअघि लंग सर्भिस एन्ड गुड कन्डक्ट मेडेल, कोसोभो कन्फ्लिक्ट मेडल, ब्रुनाइ सर्भिस मेडेल, सहारा युकेबाट विशेष सम्मान २०१६, हर्कबहादुर स्मृति पुरस्कार, आदर्श तमु वर्ष २०२२ प्राप्त गरिसकेका छन् । गोर्खाज डटकम तथा एभरेष्ट टाइम्समा लामो समय पत्रकारितामा योगदान गरेका उनको फराकिलो परिचय छ। एभरेष्ट टाइम्समै उनको १२ वर्षसम्म फोटो पत्रकारिताको योगदान छ ।
लामो समय ब्रिट्रिस गोर्खा सेनामा सेवा गरी निवृत्त उनी विभिन्न रचनात्मक काममा सरिक हुँदै आएका छन् । उनी यसअघि दर्जन बढी विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित भइसकेका छन् । पोखरा नयाँबजारका उनको पुर्ख्यौली गाउँ कास्कीको रिभान हो । हाल उनी अल्डरसटमा सपरिवार बस्दै आएका छन् ।
बुवा शिरधोज र आमा डिलकुमारीका पहिलो सन्तानको रुपमा जन्मिएका मिलन तमु १७ वर्षसम्म ब्रिटिस गोर्खामा सेवापछि निवृत्त भएका थिए । फोटो पत्रकारितामा निकै क्रियाशील उनी गीत लेखनमा पनि माहिर छन् । रोधी घरको आँगन बोलको गीत (भाग १ देखि ३) स्रोता दर्शकले निकै रुचाएका थिए । उनले सफल गुरुङ फिल्म युम्पो देउराली निर्माण पनि गरेका छन् । साथै नेपालका विभिन्न ठाउँमा बाटो, मन्दिर, गुम्बा, क्होइबो निर्माणमा आर्थिक सहयोग गरेका छन् ।
यतिमात्र कहाँ हो र, उनले अलपत्र, पीडित र सहयोग मागिरहेका व्यक्ति तथा संघसंस्थालाई सहयोग आह्वान गर्दै आफै पनि हात फैलाउँछन् । उनले आर्थिक सहयोग गरेका व्यक्ति एवं संघसंस्था सय बढी छन् । उनको पेन्सन र स्थायी जागिर छँदैछ । फोटोग्राफीको आम्दानी विभिन्न परोपकारी कार्यमा लगाउँछन्।
यसैगरी, फोनिज युकेले यस वर्षको प्रतिष्ठित पत्रकारिता सम्मान श्रीमती विमला सेनेलाई दिने निर्णय गरेको छ।
सन् १९९२ बाट ब्रिट्रिस फोर्सेस ब्रोडकाष्टिङ सर्भिस ब्रुनाईबाट रेडियो पत्रकारिता शुरु गरेकी उनले इटहरीबाट संचालित सप्तकोशी एफएममा सन् २००४ देखि निरन्तर करिब १० वर्ष रेडियो पत्रकारिता गरिन् । वाणिज्यशास्त्रमा स्नातकोत्तर उनी ब्रुनाईमा रेडियो सेवा सँगै लण्डनको नेपाली टिभीमा समाचार प्रसारिकरुपमा पनि काम गरिन् । सन् २०१४ देखि गोर्खा च्यानल चलाएकी उनी तेह्रथुमको लालीगुराँसमा जन्मेकी हुन् । उनी नेपाल पत्रकार महासंघ युके शाखाको नेपालको निमित्त केन्द्रीय प्रतिनिधि÷सदस्य एवं पूर्व उपाध्यक्ष हुन् ।
फोनिजका पूर्व अध्यक्षहरु सम्मिलित छनौट समितिले प्रतिभा छनोट गरेको हो । समितिमा हालका अध्यक्ष गोमा रानासहित पूर्व अध्यक्षहरु किरण टी लिम्बु, विश्वास दीप तिगेला र प्रमिला लाबुङ थिए ।
फोनिज युकेका अध्यक्ष गोमा रानाले पुरस्कार तथा सम्मान आगामी १६ डिसेम्बरमा अल्डरसटमा हुने चौथो अधिवेशनबीच प्रदान गरिनेछ ।
गत वर्ष एभरेष्ट टाईम्स साप्ताहिकका संस्थापक हरि गुरुङलाई सम्मान र अमित थेवेलाई पुरस्कृत गरिएको थियो।
फोनिज युकेले यी पुरस्कार र सम्मानको अलावा नेपालको निमित्त १० लाखको अक्षयकोष खडा गरी सन् २०१६ देखि नगद सहित सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ।